काठमाडौं– दसैंमा हुने कुल मासु खपत मध्ये खसी बोकाको मासुको खपत उच्च रहेको छ। पशु सेवा विभागले दसैंमा हुने कुल खपतको करिब ६० प्रतिशत खपत खसीबोकाको मासुको रहेको जनाएको हो।
विभागका सूचना अधिकारी डा. चन्द्र ढकालले दसैंमा कुल मासुको खपत ६० अर्ब रुपैयाँ हाराहारीको हुने गरेको जानकारी दिँदै सोमा अत्यधिक मात्रा खसी तथा बोकाको मासुको रहेको बताए। ‘दसैंमा मुलुक भरि कुल मासु खपत ६० अर्ब रुपैयाँ हाराहारीको हुने हाम्रो आंकलन हो,’ डा. ढकालले भने, ‘दसैंमा हुने मासुको खपत खसी तथा बोकाको हिस्सा अत्यधिक छ।’
उनका अनुसार दसैंमा मुलुकभर करिब ३३ अर्ब रुपैयाँ हाराहारीको खसी तथा बोकाको मासु खपत हुने गरेको छ। त्यस्तै राँगा २२ अर्ब रुपैयाँ हाराहारी, कुखुराको मासु ३ अर्ब रुपैयाँ हाराहारी तथा बङ्गुर र माछा क्रमशः एक एक अर्ब रुपैयाँ बराबरको खपत हुने गरेको ढकाल बताउँछन्।
विभागका अनुसार वर्षभरिमा नेपालमा ७० मेट्रिक टन खसी तथा बोकाको मासु खपत हुने गरेको छ। वर्षभरिमा मुलुकमा सबै किसिमको मासुको कुल खपत ५ लाख ५३ हजार मेट्रिक टन रहेको छ। कुल खपतको १ प्रतिशत भन्दा कम मात्रै आयात हुने गरेको विभागको प्रक्ष्येपण रहेको छ। ‘वर्षभरिमा ३९८ मेट्रिक टन चाँही आयात भएको देखिन्छ’ ढकाल भन्छन्, ‘गत वर्षको भन्सार को तथ्यांकले कुल खपतको १ प्रतिशत भन्दा कम आयात भएको देखिन्छ।’
भन्सार विभागका अनुसार गत आर्थिक वर्ष २०७७–०७८मा नेपालमा १० करोड ७८ लाख ८६ हजार रुपैयाँ बराबरका १३ हजार ८२७ खसी तथा बोका नेपाल भित्रिएका छन्। त्यसबाहेक अन्य मासुजन्य चौपाया पनि नेपाल भित्रिएका भन्सार विभागको तथ्यांक छ। त्यस्तै चालु आर्थिक वर्षको दसैं अघि साउन र भदौ महिनामा मात्रै १० करोड ८२ लाख ८८ हजार रुपैयाँ बराबरको १२ हजार ४३ खसी तथा बोका आयात भएका छन्।
सो बाहेक अन्य मासुजन्य चौपाया नेपाल भित्रिएका भन्सार विभागाको तथ्यांक छ। पशु सेवा विभागले विगतको तुलनामा मासुजन्य चौपायाको आयात घट्दै गइरहेको उल्लेख गरेको छ। नेपालमा गाउँगाउँमा छरिएर रहेका चौपाया संकलनमा कठिनाई, कच्ची सडकका कारण हुने कठिनाई लगायतका कारण भारतबाट आयात हुने गरेको ढकालको भनाई छ।
‘आयात चाँही सिमा नाकामा हुने सजिलो हुने, नेपालमा जस्तो छरिएर भारतमा रहेका छैनन्। एकमुष्ट पाइने भएकाले ल्याउन सजिलो हुने भएकाले समेत आयात हुने हो’ ढकाल भन्छन्, ‘हाम्रो गाउँ गाउँमा जानुपर्ने, कच्ची सडक हुने लगायतका समस्याले आयात हुने हो। नेपालमा उत्पादन नभएर आयात भएको भन्न मिल्दैन। टाढाबाट ल्याउँदाखेरी विविध पक्षहरुका कारण व्यवसायीहरुले भारतबाट आयात गरिरहेका छन्।’
विगतमा वर्षभरिमा ५ लाखसम्म खसी तथा बोकाको आयात हुने गरेकोमा हाल उक्त आयात ठुलो परिमाणले घटेको ढकालेको भनाई छ। ‘आयात भोल्यूम चाँही पहिलाको तुलनामा निकै घटेको हो। पहिला वार्षिक ५ लाखको हाराहारीमा खसीबोका आउँथ्यो’ उनले भने, ‘विगत दुई वर्षयता चाँही वार्षिक १० देखि १२–१३ हजार हाराहारीमा आएको भन्सार विभागको तथ्यांकले देखाउँछ।’ आयात भएका खसी तथा बोका भारतमा परिक्षण भएर स्वस्थ प्रमाण पत्र लिएर मात्रै आयात भइरहेका उनी बताउँछन्। वर्षमा समग्र मासुको खपत ५ लाख मेट्रक टन रहेको छ। वर्षभरिमा हुने खपतमा खसी तथा बोकाको हिस्सा करिब २० प्रतिशत हाराहारी रहने गरेको विभागको आंकलन रहेको छ।