शनिबार, असोज १७, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • पिक समयमा बिजुली नचलाउने सर्तमा उद्योगलाई प्राधिकरणको सुविधा

पिक समयमा बिजुली नचलाउने सर्तमा उद्योगलाई प्राधिकरणको सुविधा

नेपाल विद्युत प्राधिकरणले विद्युत् बढी माग हुने साँझ र बिहान (पिक समय) मा उद्योग नचलाउने सर्त राखी औद्योगिक ग्राहकलाई तत्काल विद्युत उपलब्ध गराउने भएको छ।
 |  शुक्रबार, असोज २२, २०७८

नेपाल समय

नेपाल समय

शुक्रबार, असोज २२, २०७८

काठमाडौं- नेपाल विद्युत प्राधिकरणले विद्युत् बढी माग हुने साँझ र बिहान (पिक समय) मा उद्योग नचलाउने सर्त राखी औद्योगिक ग्राहकलाई तत्काल विद्युत उपलब्ध गराउने भएको छ।

मुलुकभित्र उत्पादित विद्युत वर्खाको समयमा खेर जाने अवस्था आएपछि प्राधिकरणले विद्युत् खपत बढाउने अल्पकालीन योजनाअन्तर्गत पिक समयमा प्रसारण तथा वितरण लाइन ओभरलोड भएमा नचलाउने सर्त राखी उद्योगहरुलाई विद्युत उपलब्ध गराउन लागेको हो। प्राधिकरणले थप विद्युत् आवश्यक पर्ने उद्योगहरुलाई परिमाण खुलाएर तत्काल आवेदन दिन पनि आग्रह गरेको छ।

प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले सुनसरी–मोरङ औद्योगिक करिडोरका उद्योगीहरुसँग बिहीबार छलफल गरी थप लोड आवश्यक परेमा तत्काल आवेदन दिन र १३२ केभी प्रसारण लाइनबाट पनि विद्युत आपूर्ति लिन आग्रह गरे। उद्योगहरुले अहिले ११ र ३३ केभीबाट विद्युत आपूर्ति लिइरहेका छन्। ११ र ३३ केभीको तुलनामा १३२ केभीबाट आपूर्ति गरिने विद्युतको महसुल सस्तो छ।

‘एकातर्फ प्रसारण तथा वितरण प्रणाली संरचनाले नधान्दा मागेजति विद्युत दिन सकिरहेका छैनौं भने अर्कोतर्फ मुलुकभित्र उत्पादित विद्युत खेर फाल्नुपर्ने अवस्था छ,’ घिसिङले भने, ‘लाइन ट्रिपिङ हुने, कम भोल्टेजलगायतको समस्या छ। यस्तो अवस्था अन्त्यका लागि एउटा÷दुईवटा टान्सफर्मर, पोल, कन्डक्टरजस्ता उपकरण थपेर मात्रै नहुने देखिएको छ। यसका लागि मुख्य रुपमा औद्योगिक करिडोर क्षेत्रको विद्युत प्रसारण तथा वितरण प्रणालीको सञ्जाल सुधारका लागि बृहत् सुदृढीकरणको काम अगाडि बढाउँदैछौं।’

उनले उत्पादनतर्फ भन्दा पनि प्रसारण तथा वितरण प्रणालीको सुदृढीकरण गरी विद्युत् खपत बढाउन पूर्वाधारमा लगानी बढाइने बताए। ‘हाम्रो दैनिक माग २ हजार मेगावाटको हाराहारी पुगेको छ तर पूर्व–पश्चिम विद्युत् आपूर्तिका लागि १३२ केभीको मात्रै प्रसारण संरचना छ,’ उनले भने, ‘प्रसारण सञ्जाल विस्तारका लागि ४ सय र २ सय केभीका लाइन निर्माणाधीन छन् तर स्थानीयको अवरोध, अदालतको अन्तरिम आदेश, वन क्षेत्रको जग्गा प्रक्रिया र रुख कटानीको स्वीकृति भएमा भएको ढिलाइ, ठेकेदारको कामजोर कार्यसम्पादन कारण आयोजनाको निर्माण सम्पन्न हुन सकिरहेको छैन।’ उनले छिट्टो सम्पन्न गर्न सबै निकायसँग समन्वय र सहकार्य गरिरहेको पनि जानकारी दिए।

औद्योगिक करिडोरले बेहोरिएको ट्रिपिङ, लो भोल्टेजलगायतका समस्या समाधानका गर्न स्रोत र साधन अभाव नहुने गरी काम अगाडि बढाइएको उल्लेख गर्दै घिसिङले यस्ता समस्या न्यूनीकरण गर्दै भरपर्दो र गुणस्तरीय विद्युत आपूर्तिको प्रतिबद्धता जनाए।

प्राधिकरणले अल्पकालीन योजनाअन्तर्गत विद्युत माग गरेका उद्योगहरुलाई प्रसारण तथा वितरण लाइनको सुदृढीकरण तथा क्षमता विस्तार गरी तत्काल विद्युत् दिने र निर्माणाधीन आयोजनाहरुको काम जतिसक्दो छिटो सम्पन्न गर्ने योजना छ।

दीर्घकालीन योजनाअन्तर्गत विद्युत् खपत बढ्नसक्ने सम्भावित ठाउँहरुको पहिचान गरी प्रसारण तथा वितरणतर्फका ठूला क्षमताका लाइन तथा सबस्टेसन निर्माण सुरु गरिनेछ।

कार्यक्रममा उद्योग संगठन मोरङ, मोरङ व्यापार संघ, नेपाल उद्योग परिसंघ प्रदेश नं १ प्रादेशिक तदर्थ समितिका प्रतिनिधिहरुले मोरङ– सुनसरी औद्योगिक करिडोमा सञ्चालित उद्योगहरुले बेहोरिरहेको विद्युत आपूर्तिका विषयमा जानकारी गराएका थिए। संगठनहरुले दैनिक रुपमा भइरहेको ट्रिपिङ, न्यून गुणस्तरलगायतको समस्या समाधान गरी विद्युत आपूर्तिलाई भरपर्दो, गुणस्तरीय र नियमित गर्न माग गरेका छन्।

प्रकाशित: Oct 08, 2021| 14:34 शुक्रबार, असोज २२, २०७८
प्रतिक्रिया दिनुहोस्