काठमाडौं– सरकारले कालोसूचीमा राखेको मुक्तिनाथ कृषि कम्पनीले साधारण सेयर (आईपीओ) जारी गर्ने भएको छ। समयमा रासायनिक मल ल्याउन नसकेका कारण उक्त कम्पनीलाई कृषि सामग्री कम्पनीले सार्वजनिक खरिद अनुगमन कार्यालयलाई कालोसूचीमा राख्न सिफारिस गरेको थियो।
गत आर्थिक वर्ष २०७७–०७८ मा सो कम्पनीले नेपालमा २५ हजार टन युरिया र २५ हजार टन डीएपी मल आपूर्ति गर्न कृषि सामग्री कम्पनीबाट ठेक्का पाएको थियो। तर, कम्पनीले समयमा मल आयात गर्न नसकेपछि दुई वर्षको लागि कालोसूचीमा राखिएको छ। कम्पनी अहिले पनि कालोसूचीमै छ। मल ल्याउन नसकेपछि सरकारले सो कम्पनीको करिब ११ करोड रुपैयाँ धरौटी पनि जफत गरेको थियो।
कम्पनीले सर्वसाधारणमा आईपीओ जारी गरेर रकम उठाउने योजना बनाएको छ। कम्पनीले प्रतिकित्ता १०० रुपैयाँका दरले ४ करोड रुपैयाँको ४ लाख कित्ता आईपीओ निष्कासन गर्न लागेको हो।
कम्पनीले आईपीओ जारी गर्नका लागि निष्कासन तथा बिक्री प्रबन्धकमा मेगा क्यापिटल मार्केट्स लिमिटेडलाई बिहीबार नियुक्त गरेको छ। सम्झौतापत्रमा कम्पनीका कार्यकारी अध्यक्ष भरतराज ढकाल र मेगा क्यापिटल मार्केट्सका प्रमुख कार्यकारी अधिकृत सवीरबादे श्रेष्ठले हस्ताक्षर गरेका छन्।