काठमाडौं– दसैंका लागि बिक्रीमा राखिएका खसी, बोका, भेडा, च्याङ्ग्रा लगायतको स्वास्थ परीक्षण सुरु गरिएको छ।
काठमाडौं महानगरपालिका, पशु सेवा विभाग तथा भेटेरिनरी अस्पतालको सहकार्यमा बिहीबारदेखि परीक्षण सुरु गरिएको हो। बिहीबार काठमाडौंको कलंकीस्थित खसी बजारमा परीक्षण गरिएको काठमाडौं महानगरपालिकाले जानकारी दिएको छ।
महानगरको पशु सेवा महाशाखाका प्रमुख वरिष्ठ पशु चिकित्सक डा. अवधेश झाका अनुसार खसी, बोका, भेडा, च्याङ्ग्राको स्वास्थ्य जाँच गरी मासु खान योग्य देखिएमा सिङमा हरियो रंग लगाइन्छ। बिरामी भएर खान अयोग्य भेटिए भने सिङमा रातो रंग लगाइन्छ। रातो रंग लगाइएका खसीबोका खरिद नगर्न महानगरपालिकाले अनुरोध गरेको छ।
‘हामी पशुजन्य उत्पादन स्वस्थ होस् र यसको बजार सहज होस् भन्ने चाहन्छौं,’ पशु सेवा विभागकी महानिर्देशक दमयन्ती श्रेष्ठले भनिन्, ‘यसका लागि निरन्तर काम भइरहेको छ। दसैंमा धेरै मासु खपत हुने भएकोले विशेष समूह बनाएर बजारमा आएका छौं।’
कलंकीस्थित खसी बजारबाटै काठमाडौं उपत्यकाका अधिकांश क्षेत्रमा आपूर्ति हुने भएकाले यहाँबाट परीक्षण थालिएको काठमाडौं वडा नम्बर १४ की अध्यक्ष शोभा सापकोटाले बताइन्। ‘कलंकी काठमाडौंको ठूलो चौपाया बजार हो। यसलाई व्यवस्थित गरेपछि अन्य ठाउँमा यहाँबाट जाने चौपाया निरोगी पुग्छन्,’ उनले भनिन्।
महानगरभित्रका दसैंका लागि बिक्री गर्ने भन्दै राखिएका चौपाया बजारहरु कलंकी, खाद्य संस्थान थापाथली परिसर, टुकुचा खसी बजार र बालाजु बाइपास क्षेत्र हुन्। महानगरका पशु विकास अधिकृत डम्मरबहादुर बमका अनुसार यी बजारमा परीक्षणका लागि बिहान ७ बजेदेखि १२ बजेसम्म एउटा टोली र १२ बजेदेखि ५ बजेसम्म अर्को टोली गरेर २ वटा टोली नियमित परिचालन गरिने छ।
काठमाडौं महानगरसँगै ललितपुरको लगनखेल (मच्छिन्द्र मा. वि. पछाडि), भक्तपुरको लोकन्थली, सल्लाघारी, चाल्नाखेलको राँगा बजार, चन्द्रागिरीे (थानकोट) दाउरा डिपोका चौपाया बजारमा परीक्षण गरिने महानगरपालिकाले जानकारी दिएको छ।