काठमाडौं– सात वाणिज्य बैंकले लाभांश घोषणा गरेका छन्। बैंकहरुले गत आर्थिक वर्ष २०७७/७८ को नाफाबाट सेयरधनीलाई लाभांश वितरण गर्ने प्रस्ताव गरेका हुन्।
हिमालय, माछापुच्छ्रे, कुमारी, नेपाल इन्भेस्टमेन्ट, स्ट्यान्डर्ड चार्टर्ड, सानिमा र सिटिजन्स बैंक इन्टरनेसनलले लाभांशको प्रस्ताव गरेका हुन्। बैंकहरुले प्रस्ताव गरेको लाभांश स्वीकृतिका लागि नेपाल राष्ट्र बैंक पुगेको छ। राष्ट्र बैंकले केही बैंकको लाभांश स्वीकृत गरिसकेको छ भने केहीको स्वीकृत हुन बाँकी छ।
लाभांश प्रस्ताव गरेका सात वाणिज्य बैंकमध्ये सबैभन्दा धेरै लाभांश हिमालयन बैंकको छ। बैंकले सेयरधनीलाई कुल २६ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ भने सबैभन्दा कम कुमारी बैंकले ८.६७ प्रतिशत लाभांश बाड्ने प्रस्ताव गरेको छ।
हिमालयन बैंक लिमिटेडले सेयरधनीलाई २६ प्रतिशत लाभांश वितरणको प्रस्ताव गरेको छ। बुधबार बसेको बैंक सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षको नाफाबाट सेयरधनीलाई २१.३६ प्रतिशत बोनस सेयर र ४.६४ प्रतिशत नगद लाभांश गरी कूल २६ प्रतिशत लाभांश दिने प्रस्ताव गरेको हो।
बैंकहरुको लाभांश प्रस्तावलाई नेपाल राष्ट्र बैंकले स्वीकृत तथा बैंकको वार्षिक साधारणसभाले पारित गरेपछि मात्र सेयरधनीको हातमा लाभांश पर्नेछ। बैंकहरुले लाभांश घोषणा गर्न थालेपनि सेयरधनीले भने दसैंपछाडि मात्र लाभांश पाउने भएका छन्।
विगतका वर्षमा केही वाणिज्य बैंकले दसैंअघि नै वार्षिक साधारणसभा बोलाएर सेयरधनीलाई लाभांश वितरण गर्ने गरेको भए पनि यो वर्ष भने सेयरधनीले दसैंअगाडि लाभांश नपाउने भएका हुन्।
कुन बैंकको कति?
गत आर्थिक वर्षको नाफाबाट हिमालयन बैंक लिमिटेडले सेयरधनीलाई २६ प्रतिशत लाभांश वितरणको प्रस्ताव गरेको छ। बुधबार बसेको बैंक सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षको नाफाबाट सेयरधनीलाई २१.३६ प्रतिशत बोनस सेयर र ४.६४ प्रतिशत नगद लाभांश गरी कूल २६ प्रतिशत लाभांश दिने प्रस्ताव गरेको हो।
यस्तै, सानिमा बैंकले गत आर्थिक वर्षको नाफाबाट सेयरधनीलाई १७.८९प्रतिशत, नेपाल इन्भेष्टमेन्ट बैंकले १६ प्रतिशत र सिटिजन्स बैंक इन्टरनेसनलले १६ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेका छन्। गत आवको नाफाबाट माछापुच्छ्रे बैंकले सेयरधनीलाई १४ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । यो बैंकले कात्तिक २६ गतेका लागि साधारणसभा पनि बोलाइसकेको छ।
यस्तैगरी, कुमारी बैंकले सेयरधनीलाई ८.६७ प्रतिशत र स्ट्याण्डर्ड चार्टर्ड बैंकले १३.०६ प्रतिशत लाभांश घोषणा गरेका छन्
विकास बैंकमा कामना पहिलो
सात वाणिज्य बैंकले लाभांश घोषणा गरे तापनि विकास बैंकमा लाभांश घोषणा गर्ने पहिलो बैंकमा कामना सेवा विकास बैंक भएको छ। बैंकले गत आर्थिक वर्ष २०७७/७८ को नाफाबाट १९.४७ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो।
यही असोज ७ गते बसेको कम्पनी सञ्चालक समितिको बैठकले चुक्ता पुँजीको १८.५० प्रतिशत बोनस र कर प्रयोजनका लागि ०.९७ प्रतिशत नगद लाभांशसमेत गरी १९.४७ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो। प्रस्तावित १९.४७ प्रतिशत लाभांश गत चार वर्षयताकै उच्च हो।