काठमाडौं- काठमाडौँ उपत्यकामा सञ्चालित सार्वजनिक सवारी साधनको भाडामा वृद्धि भएको छ। बागमती प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालयले बुधबार काठमाडौँ उपत्यकासहित वाग्मती प्रदेशमा सञ्चालित सार्वजनिक सवारी साधनको भाडा वृद्धि गरेको हो। बागमती प्रदेशमा १३ जिल्ला छन्।
काठमाडौँ उपत्यका बाहिरको हकमा २३ प्रतिशतले भाडा वृद्धि गरेको वाग्मती प्रदेश सरकारले काठमाडौँ उपत्यकामा भने किलोमिटरका आधारमा भाडा बढाएको हो।
उपत्यकाभित्र सार्वजनिक सवारी साधनमा शून्य किलोमिटरदेखि पाँच किलोमिटरसम्म रु १८, १० किलोमिटरसम्म २३ रुपैयाँ, १५ किलोमिटरसम्म २७ रुपैयाँ, २० किलोमिटसम्म ३० रुपैयाँ र २० किलोमिटरभन्दा माथि ३५ रुपैयाँ भाडादर कायम गरिएको छ।
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको विसं २०७८ असार २७ को मन्त्रीस्तरीय निर्णयानुसार यातायात व्यवस्था विभागबाट विसं २०७८ असार २९ गते अन्तरप्रदेश रुटको भाडा समायोजन गरेर प्रदेशभित्र सञ्चालन हुने छोटो रुटको हकमा प्रदेश सरकारबाट नै भाडा समायोजन गरिनुपर्ने कानूनी व्यवस्था गरेको थियो।
नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका महासचिव सरोज सिटौलाले सार्वजनिक सवारी साधनमा भाडा वृद्धि गरे पनि ट्याक्सीको हकमा भाडा वृद्धि नगर्नु दुःखद् भएको बताए। ट्याक्सीमा पनि वैज्ञानिक भाडादर कायम गर्नुपर्ने उनको माग छ।