काठमाडौं- बुधबार बैंक तथा वित्तीय संस्थाहरुले इतिहासमा नै पहिलो पटक सबैभन्दा बढी स्थायी तरलता सुविधा (एसएलएफ) प्रयोग गरेका छन्। बुधबार एकै दिन बैंक तथा वित्तीय संस्थाहरुले ४७ अर्ब ८५ करोड रुपैयाँ बराबरको एसएलएफ सुविधा प्रयोग गरेको राष्ट्र बैंकले जानकारी दिएको छ।
बुधबार मात्र बैंक तथा वित्तिय संस्थाहरुले २० पटक तरलता सुविधा लिएका छन्। यसले बजारमा अत्यधिक तरलता अभाव भएको देखाएको छ। एकातिर तरलता अभाव खड्किरहेको र अर्कोतर्फ कर्जाको माग आएसँगै व्यवसाय विस्तारका लागि दबाब परेपछि बैंक तथा वित्तीय संस्थाहरु तरलताको खोजीमा लागेका छन्।
बैंक तथा वित्तीय संस्थासँग ७ खर्ब रुपैयाँ बराबरको एसएलएफ सुविधा लिन सक्ने क्षमता छ। तर नेपाल राष्ट्र बैंकले त्यसको ९० प्रतिशत अर्थात् ६ खर्ब ३०अर्ब रुपैयाँ मात्र कर्जा प्रवाह गर्न सक्छ।
हाल बैंक तथा वित्तीय संस्थाले हप्ताको करिब ८० अर्ब एसएलएफ सुविधा प्रयोग गरिरहेका छन्। चालु आर्थिक वर्षको असोज २० गतेसम्ममा बैंकहरुले ६ खर्ब ७५ अर्ब २४ करोड रुपैयाँ बराबको एसएलएफ प्रयोग गरिरहेका छन्।
यस्तै बुधबार नेपाल राष्ट्र बैंकले २० अर्ब रुपैयाँका लागि रिपोसमेत जारी गरेको छ। बजारमा तरलता अभाव भएको समयमा राष्ट्र बैंकले बजारमा पैसा पठाउनका लागि रिपो जारी गर्ने गर्छ। रिपो १४ दिनका प्रवाह गर्ने व्यवस्था छ।
रिपो र एसएलएफ दुवैमा बैंकहरुले ५ प्रतिशत ब्याज तिर्नुपर्छ। एसएलएफ एक हप्तासम्म मात्र चलाउने पाइने व्यवस्था छ। तर यसलाई नवीकरण गर्ने सुविधा भने हुन्छ। एसएलएफ र रिपो दुवै गरी नेपाल राष्ट्र बैंकले एक खर्बको हाराहारीमा बजारमा क्यास पठाएको छ। जुन अहिलेसम्कै धेरै रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ।
२० अर्ब रुपैयाँको रिपोको लागि ४८ अर्ब ७० करोड रुपैयाँको माग भएको नेपाल राष्ट्र बैंकले जनाएको छ। सरकारले पछिल्लो समयमा खर्च पनि बढाइरहे पनि तरलता अभावको समस्या समाधानउन्मुख देखिएको छैन।