काठमाडौं- नेपाल ल्युब आयलले ३० प्रतिशत बोनस सेयर र पाँच प्रतिशत नगद लाभांश गरी ३५ प्रतिशत लाभांश दिने भएको छ। ल्युब आयल कम्पनीले आफ्नो ३०औं वार्षिक साधारण सभामार्फत आफ्ना सेयर धनीहरुलाई उक्त लाभांश दिने प्रस्ताव गरेको हो।
भर्चुअल तथा भौतिक उपस्थितिमा सञ्चालन गरिएको साधारण सभामा अध्यक्ष अरुण कुमार चौधरी तथा सञ्चालक समिति, कम्पनी सचिव, लेखा परिक्षक, व्यवस्थापक समूह र अन्य शेयर धनीहरुको उपस्थिति रहेको थियो।
बैठकलाई सम्बोधन गर्दै अध्यक्ष अरुण कुमार चौधरीले कोभिड १९को महामारीका बाबजुद नेपाल ल्युब आयलले उत्कृष्ट वृद्धि गरेको बताए। ‘नेपाल ल्यूब आयल लिमिटेड, चलिरहेको महामारीले अगाडि राखेका चुनौतीहरुको बावजुद उत्कृष्ट वृद्धि हासिल गर्न सक्षम भएको छ,’ उनले भने, ‘चालु आर्थिक वर्षको लागि, हामीले गत वर्षभन्दा बिक्री वितरण दोब्बर बनाउने र पूर्वाधारमा लगानी तथा उत्पादन क्षमता तीन गुणा बढाउने लक्ष्य राखेका छौं।’
यस्तै बजारमा लुब्रिकेन्टसहित ब्याट्री र सोही प्रकिृतिको सामान रिटेलरहरु मार्फत कारोबार हुने वस्तु टायरको समेत कारोबार गर्ने लक्ष्य लिएको समेत चौधरीले बताए।