काठमाडौं– श्री एयरलाइन्सको एउटा जहाज मंगलबार बिहान त्रिभुवन विमानस्थलमा पार्किङबाट रनवेतिर जाँदा चौरतिर पुगेको छ। नेपालगन्ज उड्ने तयारीमा रहेको उक्त जहाज रनवेमा जान लाग्दा घाँसै मैदानतिर गएको हो। जहाजमा क्षति भने भएको छैन। ‘पार्किङबाट निस्कने बेलामा जहाजको एउटा चक्का चिप्लिएर बाहिर गएको विमानस्थल स्रोतले बताएको छ।
श्री एयरलाइन्सका अधिकारीहरूले जहाजमा यात्रु भए पनि कसैलाई चोटपटक नलागेको बताएका छन्। जहाज धावनमार्गमा नगएकाले अरू उडान पनि प्रभावित हुन पाएन। श्री एयरलाइन्सका प्रबन्धक अनिल मानन्धरले जहाजको परीक्षण भइरहेको जानकारी दिए।
विमानस्थलका प्रवक्ता रिञ्जी शेर्पाका अनुसार जहाज पार्किङबाट निकाल्ने क्रममा टर्निङको क्रममा जहाजको ब्यालेन्स नमिल्दा तीन मिटरजति जहाज डिस्ब्यालेन्स भएको छ। ‘जहाज धस्सिएको हैन पाकिङबाट निकाल्ने क्रममा डिसब्यालेनस भएर तीन फिट पर सरेको छ, टर्निङका क्रममा जहाजको देब्रेपट्टिको चक्का चिप्लिएको हो’, उनले भने।
शेर्पाले पनि जहाज उडानका लागि कुनै समस्या नरहेको बताए। उनले भने, ‘झण्डै ४५ मिनेटदेखि जहाजलाई धावनमार्गतिर निकाल्ने प्रयास भइरहेको छ। उडान अवतरणमा कुनै समस्या हुँदैन।' विमानस्थलको आन्तरिक उडानतर्फ पार्किङमा जहाज चिप्लिएकाले विमानस्थलबाट हुने सम्पूर्ण उडान सञ्चालनमा कुनै अवरोध नभएको पनि विमानस्थलले जनाएको छ।