काठमाडौं– पांग्रा नखुलेको कारण देखाई एक साताअघि विराटनगरबाट काठमाडौं डाइभर्ट गरिएको बुद्ध एयरको एटीआर–७२ जहाज प्रकरणमा कम्पनीले चालक दलको कमजोरी देखाएको छ। बुद्ध एयरले आन्तरिक छानबिनमा यस्तो ठहर गरेको हो। नागरिक उड्डयन प्राधिकरणलाई सोमबार बुझाइएको छानबिन प्रतिवेदनमा विमानमा कुनै प्राविधिक त्रुटि नरहेको उल्लेख छ। बुद्धले त्यसमा चालक दलमाथि नै शंका व्यक्त गरेको छ।
‘उडानको परिस्थितिलाई सम्बोधन गर्न चालक दलले जहाजबारे ककपिटमा रहने पर्याप्त जानकारीबिना बाहिरी सूचनामा भर पर्नु घटनाको मुख्य कारण हो,’ बुद्ध एयरका प्रबन्ध निर्देशक वीरेन्द्रबहादुर बस्नेतले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।
उडानका क्रममा चालक दलले विराटनगर अवतरण नगरी काठमाडौंमा डाइभर्ट भएपछि कम्पनीका इन्जिनियर र काठमाडौं टावरका एटीसीलाई पांग्रा खुले÷नखुलेको निश्चित गरिदिन पटकपटक सोधेका थिए। जहाजले काठमाडौंको आकाशमा आठपटक फन्को लगाएको थियो। त्यसपछि टावरले चालकदललाई काठमाडौं धावनमार्गमाथि उडाउन लगाई पांग्रा खुलेको पुष्टि गरेको थियो। त्यसपछि विमान सुरक्षित अवतरण गरिएको थियो।
‘यस घटनाबाट हामी स्तब्ध छौं। घटना मानवीय व्यवहारको पक्षबाट पनि जाँच गरिहेका छौं। हामीले समस्या पहिचान गरी कम्पनीका सबै चालकदलमा लागू हुने गरी उचित सामाधान खोजेर चाँडै कार्यान्वयनमा ल्याउने छौं।'
‘यस घटनाबाट हामी स्तब्ध छौं। घटना मानवीय व्यवहारको पक्षबाट पनि जाँच गरिहेका छौं। हामीले समस्या पहिचान गरी कम्पनीका सबै चालकदलमा लागू हुने गरी उचित सामाधान खोजेर चाँडै कार्यान्वयनमा ल्याउने छौं,’ विज्ञप्तिमा उल्लेख छ।
गत सोमबार बिहान बुद्धको पहिलो उडानमा चालक दलका ४ सदस्यसहित ७७ जना बोकेर विराटनगर पुगेको जहाज चालक दलले ल्यान्डिङ गियर (पांग्रा) खुलेको संकेत गर्ने पहिलो इन्डिकेटरको बत्ती नबलेको कारण देखाएपछि काठमाडौं फर्किएको थियो। त्यसबेला जहाजको कमान्ड क्याप्टेन आङगेलु शेर्पाले गरिरहेका थिए भने उनलाई सघाउने कोपाइलटमा अमन अन्सारी थिए।