शनिबार, जेठ ५, २०८१

कोलाहलमय सहरमा शान्त पढ्ने कोठा

पढाइमा रुचि भएका व्यक्तिहरुलाई शान्त वातावरण र आवश्यक सेवा प्रदान गर्ने प्रतिबद्धता लिई सञ्चालन गरिएको यो व्यवसाय छोटो समयमा नै पाठकको रोजाइमा पर्न सफल बन्यो।
 |  मंगलबार, असोज १९, २०७८

विकल श्रेष्ठ

विकल श्रेष्ठ

मंगलबार, असोज १९, २०७८

काठमाडौं- २०७५ भदौदेखि सञ्चालनमा आएको पढ्ने कोठा अहिले धेरैको रोजाइमा पर्ने गरेको छ। पढ्ने चाहना भएका तर घरमा पढ्ने वातावरण नभएकालाई पढ्ने कोठा एक राम्रो विकल्प बन्दै गएको छ। पढ्नका लागि भनेर बनाइएका ठाउँहरू व्यवस्थित र मैत्री भएको नपाएपछि केशव घिमिरेले आफ्ना अरु दुई साथी रुशा गिरी र प्रियंका न्यौपानेसँग मिलेर पढ्ने कोठा सञ्चालन गर्ने निर्णय गरे।

triton college

‘पढ्ने कोठा’ बनाउने साथी रूशा गिरी, केशव घिमिरे र प्रियंका न्यौपाने। तस्बिर सौजन्यः केशव घिमिरे

‘कुनै रिसर्च नगरी सुरुमा दुई–दुई लाख गरी तीन जानाले छ लाखको लगानीमा यो व्यवसाय सुरु गरेका थियौं। पहिलो महिनादेखि नै हाम्रो व्यवसाय राम्रो हुँदै गएकाले हामी उत्साहित पनि भयौं। पहिलो महिनाको आम्दानीले हामीले कोठा भाडा र केही ऋण तिर्न सक्यौं,’ केशवले भने।

कुनै पनि व्यवसाय सुरु गर्नुअघि त्यसको सम्भावना, चुनौती, अवसर र प्रतिस्पर्धा मूल्यांकन गर्ने ‘स्वट एनालाइसिस’ गर्ने चलन भए पनि उनीहरुले त्यसो गरेनन्। यस्तो संस्था काठमाडौंमा अरु नभएको देखेपछि व्यवसाय चल्नसक्ने भित्री विश्वासका आधारमा हामफाले। तर भाग्यवश उनीहरुको विश्वासअनुरुप व्यवसाय राम्रैसँग चल्यो पनि।

corrent noodles
Metro Mart

पढाइमा रुचि भएका व्यक्तिहरुलाई शान्त वातावरण र आवश्यक सेवा प्रदान गर्ने प्रतिबद्धता लिई सञ्चालन गरिएको यो व्यवसाय छोटो समयमा नै पाठकहरुको रोजाइमा पर्न सफल बन्यो। किनभने यस्तो सेवा दिने संस्था काठमाडौंमा अरु थिएनन्। 

सुरुमा नयाँ काम गर्नेलाई धेरैले हतोत्साही बनाउँछन्। उनीहरु पनि अपवदामा पर्ने कुरा भएन। कसैले नहिँडेका बाटो हिँड्न अलिकति साहास त चाहिन्छ नै। मम पसल खोल्छु भनेको भए मान्छेहरुले पैसा कमाउछस् भन्थे होलान्। तर यो पर्‍यो पढ्न लाई पैसा तिर्ने कुरा। नेपालमा एक त पढ्ने संस्कृति नै छैन अर्को कुरा पढाइको महत्व छ भन्ने मानिसले बुझे पनि पढ्ने प्रक्रिया र यसका अन्य अवयवबारे आममानिस अनभिज्ञ छन्।

उनीहरुलाई पनि पढ्ने कोठा स्थापना गर्दा मानिसहरुले यस्तो व्यवसाय राम्रो हुँदैन पैसा तिरेर को पढ्न आउँछ भनेर उडाए । तर उनीहरु उड्न मानेनन्। काममा विश्वास गरे। कुराको पछि लागेनन्।

पढ्नका लागि ठाउँ त चाहिन्छ नै। ठाउँ मात्र भएर भएन शान्त वातावरण त्योभन्दा महत्त्वपूर्ण कुरा हो। घरमा कतिपय अवस्थामा अनेका खालका व्यवधान हुन्छन्। एक त सबैको घरमा पढ्ने वातावरण नहुन सक्छ त्यसमाथि कुनै कार्यक्रम वा भेटघाट छ भने त पढ्ने वातावरण हुने कुरै भएन।

‘यस्तो प्रकृतिको संस्था दर्ता गर्ने गरिएको छैन। दर्ता गर्न मिल्दैन। पढ्ने कोठा भनेर पछि तपाईहरूले तास खेलाउनु हुन्छ कि, के थाहा?’

अनि एकाग्र भएर पढ्नको लागि शान्त पढ्ने कोठा खोज्नुपर्ने हुन्छ। त्यस्ता मान्छे पढ्ने कोठा खोज्दै आउँछन्। पढ्ने कोठामा आएपछि खाना, खाजा र पढ्ने वातावरण पाइन्छ। सातै दिन खुला हुने यो कोठामा हाल ४५ सिट, एक डिलक्स रुम र क्यान्टिनको सुविधा छ। पाठकहरुले चाहेअनुसारको कोठामा पढ्नसक्ने व्यवस्था भएको कोठामा इन्टरनेट सुविधा पनि छ। तातो र चिसो पानीको समेत व्यवस्था छ।

यहाँ आउनेहरु धेरैजसो सिएको तयारी गरिहेकोहरु, डाक्टरी पढाइ गरिरहेकाहरु, लोकसेवा आयोगको तयारी गरिरहेकाहरु छन्। संस्था ‘माउथ टु माउथ’ प्रोमोसनबाटै चलिरहेको छ। त्यसबाहेक फेसबुक, इन्स्टाग्राम र टिकटकबाट पनि प्रचार गर्ने गरिएको छ।

कोठामा आएर पढ्नेको संख्या हालसम्म तीन सय साठी पुगिसकेको छ। पढ्न आउनेहरुले कोठाको सेवा सुविधा मन पराएका छन्। सबै पाठकहरु सन्तुष्ट छन्। 


संस्थाले सेवा लिएको आधारमा दैनिक तथा साप्ताहिक शुल्क लिने गरेको छ। मासिक पढ्न आउनेले २६ सय, साप्ताहिक पढ्न आउनेले ८ सय र एक दिनको लागि १ सय २५ मूल्य तोकिएको छ। पहिल्यै पैसा तिरेर ठाउँ रोक्न पनि सकिन्छ वा एक दुई दिन हेरेर पढ्न आउने नआउने निर्णय लिने सकिने केशव बताउँछन्।

'तास खेलायौ भने के गर्ने?'

उनीहरु जब संस्था दर्ता गर्न चाबहिलको वडा कार्यलयमा पुगे तब उनीहरुलाई वडा कार्यालयका कर्मचारीले अनौठो जवाफ दिए।

वडाका कर्मचारीले उनीहरुको कुरा सुनिसकेर सरकारी पारामा जवाफ फर्काए। ‘यस्तो प्रकृतिको संस्था दर्ता गर्ने गरिएको छैन। दर्ता गर्न मिल्दैन। पढ्ने कोठा भनेर पछि तपाईंहरूले तास खेलाउनु हुन्छ कि, के थाहा?’ वडाका कर्मचारीले साेधे।

कमिसन र भ्रष्टाचारमा डुबेको नेपाली कर्मचारीतन्त्रबाट कुनै आशा गर्नु पनि व्यर्थै हो। उनीहरुले पाएको नकारात्मक जवाफले पनि त्यही संकेत गर्छ। सरकारी कर्मचारीको जवाफले निराश भए पनि उनीहरुले जसोतसो आफ्नो काम गरी नै रहे। आज कामले उत्साहित बनाउँदै लाँदा पनि तिता ती दिन उनले भुल्न सकेका छैनन्। ‘सरकारी कर्मचारीको त्यो कुरा मैले आजसम्म बिर्सेको छैन,’ केशव भन्छन्।

कोरोनाका समयमा पनि पढ्ने कोठा चलिरह्यो। तर महामारी सल्केपछि जारी निषेधाज्ञाका कारण सबैजना घरमा बस्न बाध्य भए। विद्यार्थी पढ्ने आउन पाएनन्। यद्यपि घर भाडा त तिर्नै पर्‍यो। ऋण लिएर कोठा भाडा तिरे। त्यो बेला आर्थिक रुपले गाह्रो परेको केशवले बताए। ‘अहिले विस्तारै रिकभर हुँदैछ,’ उनी भन्छन्।

कतै तपाईं पनि सहरमा शान्त पढ्ने कोठा खोज्दै हुनुहुन्छ भने चावहिल गंगाहिटीको ‘पढ्ने कोठा’ उपयुक्त गन्तव्य हुन सक्छ।

प्रकाशित: Oct 05, 2021| 09:11 मंगलबार, असोज १९, २०७८
प्रतिक्रिया दिनुहोस्