काठमाडौं- बालुवाटारमा बसेको प्रधानमन्त्री प्रचण्ड र कांग्रेस शीर्ष नेताहरूको छलफल सकिएको छ।
छलफलमा प्रधानमन्त्री प्रचण्ड सहकारी ठगीबारे संसदीय छानबिन समिति गठन गर्न सकारात्मक भएको कांग्रेस नेताहरूले बताएका छन्।
बैठकमा सहकारी ठगी प्रकरणमा संसदीय छानबिन समिति गठन गरेर निकास दिन प्रधानमन्त्री सहमत भएको कांग्रेस प्रमुख सचेतक रमेश लेखकले जानकारी दिए। उनले यस विषयमा फेरि थप छलफल गर्ने कुराकारी भएको बताए।
उनले भने, 'प्रधानमन्त्री प्रचण्ड छानबिन समिति बनाउनका लागि सकारात्मक हुनुहुन्छ। राजनीतिक गतिरोध चाँडै अन्त्य होस् भन्ने उहाँको चाहना रहेको छ।'
बैठकमा कांग्रेस सभापति शेरबहादुर देउवा, उपसभापति पूर्णबहादुर खड्का, महामन्त्री गगन थापा, प्रमुख सचेतक लेखक र नेता कृष्णप्रसाद सिटौला तथा माओवादीबाट प्रधानमन्त्री दाहालसहित जनार्दन शर्मा सहभागी थिए।
सहकारीको रकम दुरुपयोगका विषयमा संसदीय छानबिन समिति गठनको माग गर्दै नेपाली कांग्रेसले सङ्घीय संसद्का दुवै सदनका बैठकमा लगातार अवरोध गर्दै आएको छ।
शुक्रबारको प्रतिनिधिसभाको बैठक प्रमुख प्रतिपक्षी कांग्रेसको आग्रहमा सभामुख घिमिरेले आइतबारका लागि सारेका थिएभने राष्ट्रियसभाको बैठक गत वैशाख २८ गते सुरु भएको चालु अधिवेशनको पहिलो दिनदेखि नै विपक्षीले अवरोध गर्दै आएको छ।
यही जेठ १ गतेको सङ्घीय संसद्को दुवै सदनको संयुक्त बैठकमा राष्ट्रपति रामचन्द्र पौडेलले नेपाल सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए। सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गरेकामा राष्ट्रपतिप्रति कृतज्ञता ज्ञापन गर्ने संसदीय परम्परा पनि अवरुद्ध भएको छ।