काठमाडौं– भदौ महिनामा ११ वटा कम्पनीले १ अर्ब ४४ करोड रुपैयाँ बराबरको पुनर्कर्जा लिएका छन्।
नेपाल राष्ट्र बैंकका अनुसार पुनर्कर्जा प्रयोग गर्ने अधिकांश कम्पनीमा होटल तथा रिसोर्ट छन्। ती कम्पनी कोभिडका कारण समस्यामा परेका थिए। राष्ट्र बैंकले कोभिडका कारण समस्यामा परेका कम्पनीहरुलाई राहतस्वरुप पुनर्कर्जा दिने व्यवस्था गरेको छ। सोही व्यवस्था बमोजिम कम्पनीहरुले पुनर्कर्जाको लागि बैंकमा आवेदन दिएका थिए। बैंकहरुले पुनर्कर्जा नेपाल राष्ट्र बैंकबाट स्वीकृत गराउनुपर्छ।
केन्द्रीय बैंकका अनुसार राष्ट्रिय वाणिज्य बैंकले २० करोड ४४ लाख रुपैयाँ बराबरको पुनर्कर्जा २ वटा कम्पनीलाई दिने भएको छ। त्यस्तै ग्लोबल आइएमई बैंकले ७५ लाख, कुमारी बैंकले २० करोड, मेगा बैंकले २० करोड, सिद्धार्थ बैंकले ४३ करोड ३० लाख र प्रभु बैंकले ४० लाख रुपैयाँ बराबरको पुनर्कर्जा स्वीकृत भएको छ।
पुनर्कर्जा लिने कम्पनीहरुमा भद्रकाली बोर्डिङ स्कुल जनकपुर, माउन्टेन बुद्ध होलिडेज, होटल बाराही, बोधी रेडसन होटल, होटल पोखरा भिलेज, डायमन्ड हिल रिसोर्ट, सेभेन लेक्स रिसोर्ट, सुरीखोला हाइड्रोपावर कम्पनी, होटल शारा र सीता एयर प्रालि छन्।
चालु आर्थिक वर्षको भदौ महिनामा गएको कुल कर्जामध्ये सबैभन्दा बढी पर्यटनमा ७०.०१ प्रतिशत र सबैभन्दा कम शिक्षा क्षेत्रमा ०.३० प्रतिशत छ। जलविद्युत क्षेत्रमा भने २७.६८ प्रतिशत कर्जा प्रवाह भएको छ।