शनिबार, असोज १७, २०८३

ट्याक्स हेभन मुलुकमा चौधरी ग्रुपका परिवारैको लगानी

अमेरिकी व्यापारिक पत्रिका फोर्ब्सको सूचीका एक मात्र नेपाली अर्बपति (अमेरिकी डलरमा) विनोद चौधरीको परिवारले नेपालको कानून छलेर ट्याक्स हेभन मुलुकमा कम्पनी खोल्ने, त्यसैबाट नेपालमा विदेशी लगानी भित्र्याउने, लाभांश रकम लैजाने र विभिन्न मुलुकमा तहगत कम्पनी खडा गरी विश्वव्यापी व्यावसायिक सञ्जाल विस्तार गरेको आईसीआईजेको प्यान्डोरा लिक्सका विवरणले खुलासा गरेको छ।
 |  आइतबार, असोज १७, २०७८

नेपाल समय

नेपाल समय

आइतबार, असोज १७, २०७८

अमेरिकी व्यापारिक पत्रिका फोर्ब्सको सूचीका एक मात्र नेपाली अर्बपति (अमेरिकी डलरमा) विनोद चौधरीको परिवारले नेपालको कानून छलेर ट्याक्स हेभन मुलुकमा कम्पनी खोल्ने, त्यसैबाट नेपालमा विदेशी लगानी भित्र्याउने, लाभांश रकम लैजाने र विभिन्न मुलुकमा तहगत कम्पनी खडा गरी विश्वव्यापी व्यावसायिक सञ्जाल विस्तार गरेको आईसीआईजेको प्यान्डोरा लिक्सका विवरणले खुलासा गरेको छ। खोज पत्रकारिता केन्द्रका लागि तयार पारिएको रिपोर्ट:

नेपाली ‘कानूनका छिद्रको उपयोग गरी वैधानिक रूपमै विदेशमा लगानी गरेको’ बताउने अर्बपति विनोद चौधरी सहित उनको परिवारका पाँच जनाले ट्याक्स हेभन (कर प्रणाली पारदर्शी नहुने र जवाफदेही पनि नखोजिने) मुलुकमा लगानी गरेको तथ्य फेला परेको छ।

अमेरिकाको वासिङ्टन डीसीस्थित अन्तर्राष्ट्रिय खोज पत्रकारहरूको संयन्त्र ‘इन्टरनेशनल कन्सोर्टियम अफ इन्भेष्टिगेटिभ जर्नालिष्ट’ (आईसीआईजे) ले ‘खोज पत्रकारिता केन्द्र (खोपके) नेपाल’लाई उपलब्ध गराएको विवरण अनुसार चौधरी परिवारका सदस्यहरूको नाममा ब्रिटिश भर्जिन आइल्याण्डमा ३, सिंगापुरमा १ र पनामामा १ कम्पनी दर्ता छ।

११७ देशका ६०० भन्दा बढी पत्रकार सहभागी भई १७ असोज, आइतबार राति सार्वजनिक ‘प्यान्डोरा पेपर्स’ अनुसार ब्रिटिश भर्जिन आइल्याण्डमा सिनोभेसन इन्कर्पोरेटेड, सीजी होटल्स एण्ड रिसोर्ट लिमिटेड, सेन्सेइ क्यापिटल पार्टनर्स इंक र सिंगापुरमा सीजी हस्पिटालिटी होल्डिङ्स ग्लोबल पीटीई एलटीडी नामक कम्पनी चौधरी परिवारका सदस्यहरूका नाममा दर्ता छन्। 

चौधरीले आफ्नो पुस्तक तथा विभिन्न अन्तर्वार्तामा विदेशमा कानूनसम्मत लगानी गरेको र त्यसको वैधतामा प्रश्न उठाउने ठाउँ नरहेको बताउने गरे पनि उनले कर छल्ने उद्देश्यले खोलिएका ती कम्पनीहरुमा नेपालको कानून विरुद्ध हुने गरी लगानी गरेको ‘प्यान्डोरा पेपर्स’ लिक्सले देखाउँछ।

अर्कोतर्फ चौधरीका विदेशी साझेदार तथा नेपालमा विदेशी लगानी भित्र्याउने अब्दुल अवाल मिन्टु बाङ्लादेशमा मुद्रा निर्मलिकरण (मनी लाउण्डरिङ)को आशंकामा अनुसन्धानमा तानिएको समेत विवरणहरूले देखाउँछन्। ‘प्यान्डोरा पेपर्स’ लिक्सका अनुसार, चौधरीले प्रयोग गरेको नेपालको कानूनी छिद्र, त्यसको वैधतामाथिको प्रश्न र उनका साझेदार व्यक्तिमाथि सम्पत्ति शुद्धीकरणको आशंकाको विषयमा स्पष्ट हुन उनकै आत्मकथामा उल्लेख सूचना केलाउनुपर्ने हुन्छ।

'मेरा लागि सबैभन्दा ठूलो चुनौती थियो कानूनले छोडेका छिद्रहरू पहिल्याउने र यस्तरी पाइला सार्ने। ताकि मेरो विदेशी लगानीमाथि कसैले कानूनी प्रश्न उठाउन नसकोस्', सन् २०१३ मा प्रकाशित ‘विनोद चौधरी ः आत्मकथा’ शीर्षकको पुस्तकमा चौधरीले भनेका छन्। त्यसका लागि आयकर ऐनको ‘वासिन्दा व्यक्ति’ सम्बन्धी प्रावधानलाई उनले ‘छिद्र’ को रूपमा व्याख्या गरेका छन्।

'वर्षको १८३ दिनभन्दा बढी विदेश बस्ने नेपाली नागरिक गैरआवासीय नेपालीको रूपमा दरिन्थ्यो। उसले विदेशमा लगानी गर्न छूट पाउँथ्यो' चौधरीले आत्मकथामा भनेका छन्, 'मैले यसैको फाइदा उठाउँदै वर्षको १८३ दिनभन्दा बढी विदेश बसेर आफ्नै देशको अस्थायी नागरिक बन्ने निर्णय गरें। आज मेरा दुई जना छोरा राहुल र बरुणले गैरआवासीय नेपालीको हैसियतमा विदेशको कारोबार गरिरहेका छन्।'

तर, प्यान्डोरा लिक्स अनुसार, उनकी श्रीमती सारिकादेवी र जेठा छोरा निर्वाण (दुवै नेपाली नागरिक हुन्) को नाममा समेत ब्रिटिश भर्जिन आइल्याण्डमा लगानी भेटिएको छ। अर्थात् ब्रिटिश भर्जिन आइल्याण्डको सिनोभेसन इन्कर्पोरेटेडमा उनी सहित परिवारका पाँच जना सदस्यको लगानी छ। सिंगापुरको सीजी हस्पिटालिटी होल्डिङ्स ग्लोबल पीटीई एलटीडीमा भने उनका तीन छोरा र श्रीमतीको लगानी भेटिएको छ। अर्कोतर्फ चौधरीले आयकर ऐन–२०५८ को व्यवस्थाको उल्टो व्याख्या गरेर विदेशमा लगानी गरेको जानकारहरूको टिप्पणी छ। ‘अविच्छिन्न ३६५ दिनको अवधिमा १८३ दिन वा सोभन्दा बढी नेपालमा रहेको व्यक्ति’ लाई ‘वासिन्दा व्यक्ति’ सम्झनुपर्छ भनी आयकर ऐनले व्यवस्था गरेको छ।

निर्वाण चौधरीको स्केच। 

'यो व्यवस्थालाई उहाँले गलत रूपमा प्रयोग गर्नुभएको छ' पूर्व अर्थ सचिव रामेश्वर खनाल भन्छन्, 'यो व्यवस्थाले नेपालबाट विदेशमा पैसा लैजाने र त्यहाँ लगानी गर्नका लागि छूट दिएको हैन। कुनै नेपाली नागरिक १८३ दिन विदेशमा बस्छ, त्यसपछि उसले आम्दानी गर्छ भने उसले मात्रै विदेशमै लगानी गर्न पाउँछ।' तर चौधरीले नेपालबाटै विदेशमा पैसा लगानी गरेको हुँदा उनको दाबी ‘तर्कसंगत/युक्तिसंगत’ नभएको खनालको प्रतिक्रिया छ।

'नबिल बैंकको विदेशी लगानीकर्ताले पाउने लाभांश रकम विदेश लगिएको छ' खनालले भने, 'तर त्यो कम्पनीको मालिक त उहाँ नै हुनुहुँदोरहेछ। त्यही रकमबाट उहाँले विदेशमा लगानी गर्नुभएको हुनसक्छ। नेपालबाट लगिएको रकमलाई उहाँले विदेशमा बस्ने छोराहरूले कमाएको हो भनेर पुष्टि गर्न खोज्नुभएको छ। जुन गलत हो।' यस आधारमा पनि चौधरी परिवारले विदेशमा गरेको लगानीको वैधतामाथि प्रश्न खडा गरेको छ। (विभिन्न तहगत कम्पनी खडा गरी चौधरीले नबिल बैंकको आम्दानी कसरी विदेश पुर्‍याए? तल बक्समा हेर्नुस्।)

प्रकाशित: Oct 03, 2021| 22:15 आइतबार, असोज १७, २०७८
प्रतिक्रिया दिनुहोस्