शनिबार, असोज १७, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • अफसोरले गरिबी बढाउँछ, असमानता निम्त्याउँछ : जेरार्ड रायल

अफसोरले गरिबी बढाउँछ, असमानता निम्त्याउँछ : जेरार्ड रायल

आम मानिसले अफसोर दुनियाँ विरुद्ध आवाज उठाउन किन जरूरी छ भने, यसले गरीबी बढाउँछ, असमानता निम्त्याउँछ।
 |  सोमबार, असोज १८, २०७८

नेपाल समय

नेपाल समय

सोमबार, असोज १८, २०७८

हामीले १४ वटा सेवा प्रदायकका एक करोड २० लाख कागजात (फाइल्स) केलाएका छौं।  यी ‘ल फर्म’ ले विश्वका जुनसुकै व्यक्तिका लागि गोप्य अफसोर खाता (आफ्नो देशभन्दा बाहिर खोलिएका कम्पनी जसको खाता अरू कुनै देशको बैंकमा हुन्छ) खोलिदिने काम गरिरहेका छन्। 

अन्तर्राष्ट्रिय खोज पत्रकारहरूको संयन्त्र आईसीआईजेले यी सबै कागजात एउटा स्रोतबाट पाएको हो। आईसीआईजेले गत १० वर्षदेखि यो विषय नियालिरहेको छ। स्रोतका बारे मलाई पहिलेदेखि थाहा भए पनि मैले जब उसलाई भेटें यो विषय अहिलेसम्म देखेको भन्दा निकै ठूलो लाग्यो। 

आम मानिसका लागि यी कागजात धेरै महत्त्वपूर्ण छन्। यी दस्तावेजले के देखाउँछन् भने, यहाँ एउटा छाया विश्व छ, एउटा छाया अर्थव्यवस्था चलिरहेको छ। यो छाया संसारबारे हामी सचेत छैनाैं, जहाँ कपट र धोका छ। यसले पहिल्यैदेखिका धनीलाई अझै धनी बनाइरहेको छ।  

हामीले केही वर्षअघि पनामा पेपर्स प्रकाशन गर्दा यो व्यवस्थालाई समाप्त पार्नै पर्छ भनेर विश्वभर आक्रोश देखिएको थियो। तर, अहिले हामी के देखिरहेका छौं भने जसले यो छाया व्यवस्थालाई समाप्त पार्न सक्छन्, उनीहरूले नै यसबाट लाभ लिइरहेका छन्। 

यस्ता व्यक्तिहरूमा राष्ट्रपति, प्रधानमन्त्री, रक स्टारहरू छन्। पोर्न स्टार र आपराधिक व्यक्तिहरू समेत छन्। र, उनीहरूले आफ्नो अपराध लुकाउन अफसोर गोपनीयताको उपयोग गरिरहेका छन्। 
यस्ता व्यक्तिहरूमा राष्ट्रपति, प्रधानमन्त्री, रक स्टारहरू छन्। पोर्न स्टार र आपराधिक व्यक्तिहरू समेत छन्। र, उनीहरूले आफ्नो अपराध लुकाउन अफसोर गोपनीयताको उपयोग गरिरहेका छन्। 

यो धन्दामा विश्वका पूर्व र बहालवाला ३९ जना नेता संलग्न भएको भेटेका छौं। त्यस्तै १०० भन्दा बढी देशका ५०० भन्दा बढी राजनीतिकर्मी र सरकारी अधिकारीको संलग्नता पाइएको छ। यसमा जोर्डनका राजाको नाम जोडिएको छ।

उनीहरू अफसोर गोपनीयताको फाइदा उठाएर लाभान्वित भएका छन्। उनीहरूले घर, कार र अन्य महँगा सामग्री खरिद गरेका छन्। यसबाहेक हामीले केही विश्वका चर्चित व्यक्तिको विवरण भेटेका छौं, जसको नाम कागजातहरूमा उल्लेख छ।

यो व्यवस्था अन्त्यका लागि अन्तर्राष्ट्रिय अभियानको आवश्यकता छ। तर नेता, राजनीतिकर्मी र सरकारी अधिकारीहरू नै यो कपटपूर्ण कार्यमा लागेका छन् त्यसैले यो चाँडै समाप्त होला जस्तो लाग्दैन। अब विश्वभरबाट जनताले यस्तो छाया व्यवस्थाको अन्त्यका लागि दबाब दिनै पर्छ। 

आम मानिसले अफसोर दुनियाँ विरुद्ध आवाज उठाउन किन जरूरी छ भने, यसले गरिबी बढाउँछ, असमानता निम्त्याउँछ। जब धनी र शक्तिशालीले देश लुट्न थाल्छन् शरणार्थी समस्या जस्ता थुप्रै समस्या निम्तिन्छन्। मूलभूत रूपमा संसारका सबै खराबीलाई व्यवस्थामा भित्र्याइन्छ र, त्यो व्यवस्थाको उद्देश्य केही व्यक्तिलाई समृद्ध बनाउनुभन्दा अर्को हुँदैन।

सिंगापुरमा एउटा एशियासिटी नाम गरेको कम्पनी छ। यो विश्वकै ठूलो मध्येको अफसोर सेवा प्रदायक कम्पनी हो। अष्ट्रेलियाली नागरिक ग्रेम ब्रिग्सले सञ्चालन गरेको यो कम्पनीका ग्राहकमध्ये ठूला ब्यांक, अकाउन्टेन्सी फर्महरू छन्। त्यस्तै उनीहरूका ग्राहकमा विभिन्न मुलुकका खराब व्यवस्थासँग जोडिएका कुख्यात व्यक्तिहरू पनि छन्। एशियासिटीले गोप्यता चाहने व्यक्तिका लागि अफसोर कम्पनी खोलिदिन्छ। यसले खासगरी कुक आइल्याण्ड्स र समोआ जस्ता देशमा बढी विशेषज्ञता राख्छ। यी दुई विश्वकै सबैभन्दा गोप्य अफसोर क्षेत्राधिकार भएका देशमध्येका हुन्। 

शेल कम्पनी (सामान्यतः कागजमा सिमित यस्ता कम्पनीको वास्तविक पहिचान, पुँजी र कर्मचारी हुँदैनन्। यी कम्पनीको मुख्य उद्देश्य वास्तविक मालिकको पहिचान लुकाउने, आफ्नो धन एवम् लगानीको जानकारी लुकाउने र कर छली गर्नु हुन्छ।) हरू अपराधको अफसोर संसारमा छिराउने अनिवार्य वाहक हुन्। हामी यहाँ केही लाख डलरको कुरा गरिरहेका छैनौं, कुरा खर्बौं डलरको हो। एउटा पारिस्थितिकीय प्रणाली बनेको देखिन्छ। 

मलाई के लाग्छ भने, हामीले यो गोपनीयतालाई समाप्त गर्‍यौं भने पनि अन्तर्राष्ट्रिय रूपमा मुद्रा निर्मलीकरण (मनी लाउन्डरिङ) समाप्त पार्न धेरै लामो बाटो हिंड्नुपर्नेछ। समस्या के हो भने, प्रहरीले आफ्नो सीमाभित्र मात्र अपराधीलाई पक्रन सक्छ। सीमा पारि प्रहरी जान सक्दैन। यो नै अफसोर संसारका अपराधीहरूका लागि शक्ति हो। उनीहरूले अफसोर शेल कम्पनीका दुई वा तीन तहबाट कारोबार गरे भने कसैले पनि वास्तवमा के भइरहेको छ भन्ने थाहा पाउँदैन। 

राजनीतिज्ञ र नेताहरूले यसलाई समाप्त पार्न सक्छन् तर, उनीहरू आफैंले शेल कम्पनीको प्रयोग गरिरहेकाले उनीहरूमा यसलाई रोक्ने इच्छाशक्ति नै छैन। 

(अष्टेलियाको एबीसी टेलिभिजनका पत्रकार एलिस वर्थिङटनले आईसीआईजेका निर्देशक जेरार्ड रायलसँग गरेको कुराकानीको सम्पादित अंश)

प्रकाशित: Oct 04, 2021| 06:20 सोमबार, असोज १८, २०७८
प्रतिक्रिया दिनुहोस्