काठमाडौं– सरकारले इन्टरनेट सेवा प्रदायकलाई छलफलमा डाकेको छ। विद्युत् प्राधिकरण र इन्टरनेट सेवा प्रदायक संघबीच पोल विवादका विषयमा छलफल अघि बढाइएको हो।
संघका अध्यक्ष सुधीर पराजुलीले सूचना तथा सञ्चार प्रविधि मन्त्रालयमा छलफल भइरहेको बताए। ‘हिजो मात्रै विद्युत् प्राधिकरणले लाइन काट्दा ५५ ठाउँमा विभिन्न कम्पनीको इन्टरनेट सेवामा अवरोध आएको छ’ उनले भने, ‘लाइन काटिएको विषयमा आजको रिपोर्टिङ हुन बाँकी छ।’
यसअघि नेपाल विद्युत् प्राधिकरणले शनिबारदेखि इन्टरनेट सेवा प्रदायक कम्पनीका अप्टिकल फाइभर काट्न सुरु गरेको छ। प्राधिकरणले पोलको उचित भाडा नदिएको र उचित भाडा दिन तयार नरहेका भन्दै अप्टिकल फाइबर काट्ने चेतावनी यसअघि नै दिएको थियो। पछिल्लो समय प्राधिकरणले विद्युतीय तार भूमिगत गर्न खोजिरहेको छ।