काठमाडौं- मेगा बैंक नेपाल लिमिटेडले रौतहट जिल्लाका गुजरा नगरगालिकाका किसानहरुलाई कृषि कर्जा तथा वित्तीय साक्षरताका सम्बन्धमा अभिमुखीकरण कार्यक्रम गरेको छ।
उर्बर नेपालको सहकार्यमा गुजराका किसानलाई वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गरी बैंकको ब्याज अनुदानसहितको कृषि कर्जा, बचत, मेगा किसान कार्ड तथा अन्य सेवा सुविधाहरुको बारेमा जानकारी प्रदान गरेको हो।
बैंकले वित्तीय साक्षरता कार्यक्रममार्फत धान, दाल तथा मकै खेतीको पकेट क्षेत्रको रुपमा रहेको गुजरा, रौतहटका किसानहरुलाई ब्यवसायिक भई कृषि कर्जाको उच्चतम सदुपयोग गर्नुपर्ने सम्बन्धमा अन्र्तक्रिया समेत गरेको छ।
कार्यक्रममा मेगा बैंकका माइक्रो बैंकिङ्ग विभाग प्रमुख पुण्यप्रसाद खनिया, प्रदेश नम्बर २ का प्रमुख यशपाल कुमार तिब्रेवाल, वीरगञ्ज शाखाका प्रमुख बेलाल अहमदले बैंकिङ्ग सेवा सुविधाहरु, बचत, ऋण, रेमिटान्स, वचत गर्ने उपायहरु, वचत तथा ऋणको महत्वबारे जानकारी दिएका थिए। कृषि क्षेत्रले राम्रो योगदान गर्ने र कृषकहरुको आर्थिक जीवनस्तर पनि माथि उठाउन सकिने उनीहरूको भनाइ थियो।
उर्बर नेपालसँगको सम्झौतापश्चात् मेगा बैंकले ग्रामीण भेगका किसानहरुलाई कृषि उत्पादनमा आवश्यक कर्जा लगानी गर्नको लागि लघु, साना तथा मझौला कर्जा एवम् नेपाल राष्ट्र बैंकको सहुलियतपूर्ण ब्याज अनुदान कर्जा निर्देशिका र बैंकको सहुलियतपूर्ण ब्याज अनुदान कर्जा कार्यविधिको अधिनमा रही सहुलियतपूर्ण व्यवसायिक कृषि तथा पशुपालन कर्जा प्रदान गर्दै आएको छ। बैंकले कृषकहरुलाई किसान कार्ड उपलब्ध गराउँदै आएको छ।
कार्यक्रममा उर्बर नेपालका अध्यक्ष सुदर्शन कार्की, उर्बर नेपाल रौतहटका जिल्ला संयोजक मनिष अधिकारी लगायतले उर्बर नेपालले किसानहरुको उत्पादन उर्बर बजार मार्फत उपभोक्ता समक्ष पहुँच पुर्याउने बताए।