शनिबार, असोज १७, २०८३

वायुयानबारे अध्ययन समिति गठन

आन्तरिक तथा बाह्य उडान भर्ने हवाईजहाज तथा हेलिकोप्टरको भौतिक–यान्त्रिक तथा अभिलेखीय अवस्थाको अध्ययन गर्न समिति गठन भएको हो।
 |  बुधबार, असोज १३, २०७८

नेपाल समय

नेपाल समय

बुधबार, असोज १३, २०७८

काठमाडौं- अहिलेसम्म दर्ता भएका र हाल सञ्‍चालनमा रहेका वायुयानको अवस्थाबारेमा अध्ययन गर्न समिति गठन भएको छ। आन्तरिक तथा बाह्य उडान भर्ने हवाईजहाज तथा हेलिकोप्टरको भौतिक–यान्त्रिक तथा अभिलेखीय अवस्थाको अध्ययन गर्न समिति गठन भएको हो।

बुधबार संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले गठन गरेको समितिको संयोजकमा मन्त्रालयकै सहसचिव बुद्धिसागर लामिछाने छन्। त्यसैगरी सदस्यहरुमा नेपाल नागरिक उड्डयन प्राधिकरणका पूर्वनिर्देशक भेषराज सुवेदी, वरिष्ठ क्याप्टेन कृष्णबहादुर पौडेल क्षेत्री, एटीसी प्रमोद नेपाल तथा सदस्य सचिवमा नागरिक उड्डयन प्राधिकरणका प्रबन्धक लक्ष्मण देवकोटा छन्।

समितिलाई ३ महिनाभित्र प्रतिवेदन पेश गर्ने कार्यादेश दिइएको छ। पर्यटन मन्त्रालयका सहसचिव तथा प्रवक्ता तारानाथ अधिकारीद्वारा जारी प्रेस विज्ञप्तिमा भनिएको छ, ‘नेपालको आकाशमा आन्तरिक तथा बाह्य उडान भर्ने नेपालमा दर्ता भएका हवाईजहाज–हेलिकोप्टरहरुको भौतिक यान्त्रिक र अभिलेखीय अवस्थाको अध्ययन गर्न समिति गठन गरिएको छ।’ 

विगत केही वर्ष यता नेपालमा आन्तरिक उडान भर्ने वायुसेवा कम्पनीहरुका हवाईजहाज र हेलिकोप्टरहरुमा विभिन्न समस्याहरु देखा परेको अवस्थालाई मध्यनजर गरी सरकारको माथिल्लो निकायबाट नै चासो व्यक्त भएकाले कोभिड–१९ पछिको उड्डयन क्षेत्रको वस्तुस्थिति अध्ययन गर्न समिति गठन भएको सहसचिव लामिछानेले बताए। 

अध्ययन समितिले आईकाओबाट स्वीकृत मापदण्डहरु र वायुयान उत्पादक कम्पनीहरुको म्यानुअलको व्यवस्था वायुसेवा कम्पनीहरुले कार्यान्वयन गरे–नगरेको सम्बन्धमा प्राधिकरणले गरेको परीक्षण प्रतिवेदनको पुनरावलोकन, इजाजत प्राप्त वायुयान चालक दलका सदस्यहरुको सम्बन्धमा स्वीकृत मापदण्डहरुको पालनाको सम्बन्धमा परीक्षण गर्ने लगायतका काम गर्नेछ।

प्राधिकरणले गर्नुपर्ने उडान सुरक्षा सम्बन्धी काम, कर्तव्य र अधिकारको अध्ययन गरी नेपाल नागरिक उड्डयन प्राधिकरणबाट सम्पादित सेफ्टी अडिट कार्यको गुणस्तर अद्यावधिक तथता संपरीक्षण पनि समितिले गर्ने जनाइएको छ। गएको सोमबारमात्र काठमाडौंबाट विराटनगर र पोखराको लागि उडान भरेको बुद्ध एयरको विमानमा प्राविधिक समस्या आएपछि पुनः काठमाडौं फर्काएर अवतरण गरिएको थियो। यो घटनासँगै नेपालको उड्डयन क्षेत्रमा हवाई सुरक्षाको बहस सुरु भएको छ।

प्रकाशित: Sep 29, 2021| 21:15 बुधबार, असोज १३, २०७८
प्रतिक्रिया दिनुहोस्