काठमाडौं- ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले केवल टेलिभिजन व्यवसायीको माग सम्बोधन गर्ने प्रतिबद्धता जनाएकी छन्। बुधबार केवल टेलिभिजन व्यवसायी महासंघको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै मन्त्री भुसालले यस्तो बताएकी हुन्।
'यहाँहरुको पेशागत जीवनमा परेका समस्या र चुनौतीलाई राज्यले सकारात्मक ढंगले ग्रहण गर्नेछ, मैले पनि नेपाल सरकारको मन्त्रीको हैसियतले सकारात्मक रुपले ग्रहण गर्नेछु र संवादद्वारा समाधान गर्ने कुराको पनि विश्वास दिलाउँछु,’ मन्त्री भुसालले भनिन्, 'केवल टेलिभिजन व्यवसायी साथीहरुले गाउँ–गाउँ, ठाउँ–ठाउँमा पुगेर राज्यले दिनुपर्ने सेवालाई निजी क्षेत्रले पनि दिएको छ। म त्यसलाई सम्मान गर्दछु, राज्यका आज आफ्नो टेलिफोन, टेलिभिजन हुँदाहुँदै निजी प्रदायकहरु पनि हुनुहुन्छ।'
सञ्चारलाई गाउँ–गाउँमा पुर्याउने काम निजी क्षेत्रले गरिरहेको उनको भनाइ छ। मन्त्री भुसालले सबैको अभिभावक भएकोले सरकारले निजी र सामुदायिक क्षेत्रका र जनताका समस्याको समाधान गर्ने उल्लेख गरिन्। विद्युत प्राधिकरणको बैठकमा पोल भाडा वृद्धिको विषयमा छलफल गर्ने उनले भनिन्।