आइतबार, असोज १८, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • प्राधिकरणका हितेन्द्रदेव भन्छन्– सरकारले चाहे ठाउँ छोड्न तयार छु

प्राधिकरणका हितेन्द्रदेव भन्छन्– सरकारले चाहे ठाउँ छोड्न तयार छु

‘मेरो आवश्यकता महसुस गरेर सरकारले जहाँसुकै पठाए पनि जान तयार छु।’
 |  बुधबार, साउन २०, २०७८

नेपाल समय

नेपाल समय

बुधबार, साउन २०, २०७८

काठमाडौं– नेपाल विद्युत् प्राधिकरणका प्रबन्ध निर्देशक हितेन्द्रदेव शाक्यले सरकारले चाहेमा आफू पदबाट हट्न तयार रहेको बताएका छन्। प्रधानमन्त्री शेरबहादुर देउवाले शाक्यलाई कार्यकारी निर्देशकबाट हटाएर कुलमान घिसिङलाई ल्याउन ऊर्जामन्त्री पम्फा भुसाललाई निर्देशन दिएपछि उनको यस्तो भनाइ आएको हो। 

कार्यकारी निर्देशक शाक्यले आफूलाई सरकारले जहाँसुकै पठाए पनि जान तयार रहेको बताए। प्राधिकरणमा बुधबार पत्रकारहरुसँग भने, ‘मेरो आवश्यकता महसुस गरेर सरकारले जहाँसुकै पठाए पनि जान तयार छु।’ आफूले सुरुको दिनदेखि नै इन्जिनियरिङमा विदेशीको भर नपर्ने भनेर काम गर्दै आएको उनको भनाइ छ। उनले भने, ‘टेक्निकल मेरो फिल्ड हो। प्लानिङ पनि गर्छु। धेरै वटा प्लानिङ गरेको छु। आफ्नो क्षेत्रसँग जोडिएको जुनसुकै क्षेत्रमा पठाए पनि काम गर्छु।’

कार्यकारी निर्देशक शाक्यले आफ्नो कार्यकालमा विद्युत्मा समस्या नहुने गरी काम गरेको बताए। अघिल्लो वर्षभन्दा यस वर्ष कम विद्युत् आपूर्ति रोकिएको दाबी उनको छ। शाक्यले यस वर्ष १५ प्रतिशतले खपत बढेकाले चुहावट पनि बढेको बताए। उनले भने, ‘घरघरमा पुगेर अनुगमन गर्न नसक्दा र हुकिङ तार हटाउन जान नसक्दा १.६ प्रतिशत चुहावट बढेको छ।’ 

उनले अस्पतालहरूमा विद्युत् नजाने गरी बस्दोबस्त मिलाइएको तथा गइहालेमा पनि तुरुन्तै सञ्चालनमा ल्याइएको स्पष्ट पारे। यसबीचमा ढल्केबर ४०० केभी सबस्टेसनलाई नेपाल–भारत ४०० केभीमा सञ्चालनमा ल्याएको, खिम्ती ढल्केबर २२० केभी सञ्चालन गरेको, अपर तामाकोसीको कामलाई अगाडि बढाएको, पूर्ण विद्युतीकरण भएका जिल्लामा १३ जिल्ला थपेको तथा कर्णाली अञ्चलमा पहिलोपल्ट ७ ग्रिडको विद्युत् पु¥याएको उनले बताए।

प्रकाशित: Aug 04, 2021| 17:34 बुधबार, साउन २०, २०७८
प्रतिक्रिया दिनुहोस्