काठमाडौं- दुर्गम जिल्ला बैतडीमा जन्मेका हुन्, पुष्कर भट्ट । नेपाली लघुकथामा विद्यावारिधि गरेका छन्, उनले ।
डोटेली लवजमा बोल्ने ४३ वर्षीय उनी आफैं लघुकथाकार हुन् । बजार उपन्यास लेखनले पिटेको छ । कथा र कविताको बजार पनि कमजोर छैन । तर, लघुकथा छाप्न प्रकाशकहरू आनाकानी गर्छन् ।
धेरैको बुझाइ हुन्छ, लघुकथा अल्छीहरूले लेख्छन् । जबकि, एक बसाइमै लेख्न र पढ्न सकिने विधा हो यो ।
प्रदेश-७ को स्थानीय लवज समातेर सामाजिक व्यंग्य कस्छन् उनी, आफ्ना लघुकथामा । भन्छन्, ‘लघुकथा साहित्यको सानो झ्याल हो, जहाँबाट बृहत दृष्य देखिनुपर्छ ।’
त्यही दृष्यमा उनका सपना जोडिएका छन् । तिनै सपनामा उनी आफूलाई भुलाइरहेका छन्, लघुकथामार्फत् । आफू बाँचेको परिवेश वरिपरि नै कथा भेट्छन्, उनी । र, ती कथा कहिलेकाहीं त मोबाइलमै लेखिभ्याउँछन् ।
सामाजिक सञ्जालको प्रयोग विश्वव्यापी बनेको एक दशक नाघ्यो । स्ट्याटसकै रूपमा लघुकथा पोस्ट गर्न यस्ता सञ्जाललाई प्रयोग गर्दै आएका छन्, भट्टले । बौद्धिक कोणबाट यस विधाका लागि केही गर्ने उनको योजना छ ।
पहिलो नेपाली लघुकथा कृति पूर्णप्रसाद ब्राम्हणको ‘झिल्का’ मानिएको छ । त्यसयता यस विधामा धेरै लेखक जोडिए । तर, यस विधाले जति उचाइ पाउनुपर्ने हो, त्यति पाउन सकेको छैन ।
भट्ट भन्छन्, ‘लघुकथा साहित्यको बाटोलाई फराकिलो पार्दैछौं ।’ हजुरबा–आमाको नाममा उनले ‘पद्यमा–रामचन्द्र लघुकथा पुरस्कार’ स्थापना गरेका छन् ।
डोटेली भाषामा लेख्न रुचाउँछन् र डोटेली साहित्यलाई विश्व बजारमा चिनाउन चाहन्छन् ।
प्रकाशित: Dec 31, 2017| 06:23. 00 आइतबार, पुस १६, २०७४