काठमाडौं‐ अर्थमन्त्री जनार्दन शर्माले केपी शर्मा ओली नेतृत्वको सरकारले ल्याएको बजेट संसदमा टेबुल गर्ने भएका छन्। नयाँ बजेट बनाएर संसदमा टेबुल गर्नका लागि पर्याप्त समय नभएपछि अर्थमन्त्रीले ओली सरकारले अध्यादेशमार्फत् ल्याएकै बजेट संसदमा टेबुल गर्ने भएका हुन्।
शुक्रबार अर्थ मन्त्रालयमा पत्रकारहरुसँग कुराकानी गदै अर्थमन्त्री शर्माले साउन ३ गते बस्ने प्रतिनिधि सभाको बैठकमा पुरानै बजेट टेबुल गर्ने भएका हुन्। उनले पत्रकारहरुसँग भने, ‘पहिलेकै सरकारले अध्यादेशमार्फत् ल्याएको बजेट संसदमा टेबुल गर्छु संसदले जे भन्छ त्यही ढंगले अगाडि बढ्छु।’ संसदले संशोधनसहित अहिलेकै बजेट कार्यान्वयन गर्न भन्यो भने त्यहीअनुसार आफू अघि बढ्ने उनले बताए।
त्यस्तै अर्थमन्त्री शर्माले आफूले अर्थतन्त्रको ताजा अवस्थाको विस्तृत अध्ययन गरिरहेको जानकारी दिँदै श्वेतपत्र जारी गर्ने बताए। उनले भने, 'अहिले देशको अर्थतन्त्रको अवस्थाको अध्ययन गरिरहेको छु, अध्ययनपछि श्वेतपत्र जारी गर्नेछु।‘