शनिबार, असोज १७, २०८३

विकास खर्चमा यस वर्ष पनि ओली सरकार असफल

यस वर्ष पनि विकास (पुँजीगत) बजेट एकदमै न्यून खर्च भएको छ। विगतका वर्षहरुमा विकास बजेट न्यून खर्च भएको भन्दै आलोचना खेप्दै आएको ओली सरकारले चालु आर्थिक वर्ष २०७७–०७८ मा पनि विकास बजेट न्यून खर्च गरेको  हो।
 |  बिहीबार, असार ३१, २०७८

नेपाल समय

नेपाल समय

बिहीबार, असार ३१, २०७८

काठमाडौं– यस वर्ष पनि विकास (पुँजीगत) बजेट एकदमै न्यून खर्च भएको छ। विगतका वर्षहरुमा विकास बजेट न्यून खर्च भएको भन्दै आलोचना खेप्दै आएको ओली सरकारले चालु आर्थिक वर्ष २०७७–०७८ मा पनि विकास बजेट न्यून खर्च गरेको  हो।

चालु आर्थिक वर्ष सकिँदासम्म कुल विकास बजेटको ६४.५३ प्रतिशतमात्रै खर्च भएको महालेखा नियन्त्रकको कार्यालयले जानकारी दिएको छ। चालु आर्थिक वर्षमा कुल ३ खर्ब ५२ अर्ब ९१ करोड ७५ लाख रुपैयाँ पुँजीगत बजेट रहेकोमा बुधबारसम्ममा २ खर्ब २७ अर्ब ७३ करोड ८४ लाख रुपैयाँ खर्च भएको छ। 

ओलीले २०७४ फागुन पहिलो साता मुलुकको नेतृत्व लिएका थिए। चुनावी नारा तथा सार्वजनिक समारोहहरुमा विकासको मूल फुटाउने चर्का भाषण गरेपछि उनले विकास खर्च बढाउने आपेक्षा गरिएको थियो। तर, उनको कार्यकालभरि कुनै पनि आर्थिक वर्षमा विकास बजेट अपेक्षित रुपमा खर्च हुन सकेन।

चालु आर्थिक वर्षमा कुल १४ खर्ब ७४ अर्ब ६४ करोड ५४ लाख रुपैयाँ बराबरको बजेट आएको थियो। आर्थिक वर्ष सकिँदासम्म ७९.७३ प्रतिशत बजेट खर्च भएको महालेखा नियन्त्रकको कार्यालयले जानकारी दिएको छ। असार मसान्तभन्दा अघिल्लो दिन बुधबारदेखि नै निकासा रोकेको जानकारी गराएको महालेखाले बुधबारसम्म ११ खर्ब ८० अर्ब १७ करोड ४ लाख रुपैयाँ खर्च भएको विवरण सार्वजनिक गरेको छ।

चालु आर्थिक वर्षमा चालुतर्फ  कुल बजेटको ८९.७३ प्रतिशत बजेट खर्च भएको छ। कुल ९ खर्ब ४८ अर्ब ९४ करोड ६ लाख रुपैयाँ चालुतर्फ विनियोजन गरिएकोमा ८ खर्ब ५१ अर्ब ४५ करोड ७९ लाख रुपैयाँ खर्च भएको महालेखाले जानकारी दिएको छ।

आर्थिक वर्ष सकिनै लाग्दा सर्वोच्च अदालतको परमादेशले ओली सरकारबाट बाहिरिएका छन्। यद्यपि, आगामी आर्थिक वर्ष २०७८–७९ को बजेट भने ओली सरकारले नै अध्यादेशमार्फत ल्याइसकेको छ।

प्रकाशित: Jul 15, 2021| 12:54 बिहीबार, असार ३१, २०७८
प्रतिक्रिया दिनुहोस्