काठमाडौं- नेपालमा ११ महिनाको अवधिमा झण्डै ५० अर्ब मूल्य बराबरको स्वास्थ्य सामग्री तथा औषधिजन्य वस्तु भित्रिएको छ। नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांकअनुसार नेपालमा गत ११ महिनाको अवधिमा ४९ अर्ब, ५२ करोड, ८ लाख मूल्य बराबरको स्वास्थ्य तथा औषधिजन्य सामग्री भित्रिएको हो।
अघिल्लो वर्षको भन्दा यस वर्ष १३ अर्ब ३३ करोड ६ लाख रुपैयाँ बढीको स्वास्थ्य सामग्री तथा औषधिजन्य वस्तु आयात गरिएको छ। गत वर्षको सोही अधिमा ३६ अर्ब, १९ करोड २ लाख बराबरको स्वास्थ्य सामग्री तथा औषधि आयात गरिएको थियो।
गत वर्षको ११ महिनाको तुलनामा यस वर्ष ३७ प्रतिशतले औषधिजन्य तथा स्वास्थ्य सामग्रीको आयात बढेको हो।
अन्य देशबाट नेपालमा आयात गरिएका सबैभन्दा धेरै २० प्रकारका सामग्रीमध्ये सातौँ नम्बरमा औषधिजन्य वस्तु आयात भएको छ भने १८ औं नम्बरमा स्वास्थ्य सामग्री तथा उपकरणहरु रहेका छन्।
तथ्यांकअनुसार गएको ११ महिनामा ३४ अर्ब २८ करोड ५ लाख बराबरको औषधि आयात भएको छ भने १५ अर्ब ५२ करोड, ३ लाख बराबरको स्वास्थ्य उपकरण आयात गरिएको छ।
जबकि गत वर्ष सोही अबधिमा २८ अर्ब १० करोड २३ लाख बराबरको औषधिजन्य वस्तु आयात भएको थियो। गत वर्षको तुलनामा यस वर्ष २२ प्रतिशत मूल्य बराबको औषधिजन्य वस्तुको आयात बढेको छ।
स्वास्थ्य उपकरण आयातमा गत वर्षको ११ महिनाको तुलनामा यस वर्ष ८८.४ प्रतिशतले वृद्धि भएको छ। गत वर्ष ११ महिनामा ८ अर्ब, ८ करोड, ७९ लाख रुपैयाँ बराबरको स्वास्थ्य उपकरण आयात भएकोमा यस वर्ष सोही अबधिमा १५ अर्ब, २४ करोड, ३ लाख रुपैयाँ बराबरको आयात गरिएको छ।
यस्तै कुल आयात गरिएको औषधिमध्ये भारतबाट २५ अर्ब ९१ करोड ४२ लाख मूल्य बराबरको औषधिजन्य सामग्री खरिद गरिएको छ। भारतबाट गत वर्ष सोही अबधिमा २३ अर्ब ८२ करोड, ५८ लाख बराबरको ल्याइएको थियो। यस वर्ष ८.८ प्रतिशतले मात्रै भारतबाट ल्याइने औषधिजन्य वस्तुमा वृद्धि भएको तथ्यांक छ।
त्यस्तै चीनबाट गत वर्षको ११ महिनाको तुलनामा स्वास्थ्य सामग्री तथा उपकरण आयातमा यस वर्ष १२७.९ प्रतिशतले वृद्धि भएको छ। गत वर्ष ११ महिनाको अवधिमा २९ अर्ब ३ लाख रुपैयाँ बराबरको स्वास्थ्य सामग्री भित्रिएकोमा यस वर्ष ६६ अर्ब, १० करोड ४ लाख मूल्य बराबरको सामग्री आयात गरिएको छ।
त्यस्तै औषधिमा पनि २९४.६ प्रतिशतले वृद्धि भएको छ। गत वर्ष ११ महिनाको अवधिमा १० अर्ब, ८० करोड, ६ लाख मूल्य बराबरको आयात भएको थियो। तर यस वर्ष उल्लेख्य मात्राामा वृद्धि भएको छ। यस वर्ष ४२ अर्ब ६४ करोड, ४ लाख मूल्य बराबरको औषधि आयात गरिएको छ।
अन्य देशबाट आयात गरिएको स्वास्थ्य सामग्री तथा उपकरणमा पनि गत वर्षको तुलनामा यस वर्ष वृद्धि भएको छ। गत वर्षको ११ महिनाको तुलनामा यस वर्ष ६६.४ प्रतिशतले वृद्धि भएको छ। यस वर्ष ८ अर्ब ६२ करोड ९९ लाख मूल्य बराबरको स्वास्थ्य उपकरणहरु भित्रिएका छन्। जबकि गत वर्ष सोही अबधिमा ५ अर्ब १८ करोड ७६ लाख मूल्य बराबरको उपकरण भित्रिएको छ।
त्यस्तै औषधिजन्य वस्तुमा पनि यस वर्ष २८.४ प्रतिशतले वृद्धि भएको छ। गत वर्ष ११ महिनाको अवधिमा ३ अर्ब १९ करोड ५९ लाख रुपैयाँ बराबरको औषधिजन्य वस्तु आयात गरिएकोमा यस वर्ष ४ अर्ब १० करोड १९ लाख मूल्य बराबरको आयात गरिएको छ।