शनिबार, असोज १७, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • सहुलियतपूर्ण कर्जा साढे एक खर्ब, सर्टिफिकेट धितो कर्जा १४१ जनालाई

सहुलियतपूर्ण कर्जा साढे एक खर्ब, सर्टिफिकेट धितो कर्जा १४१ जनालाई

बैंकहरुले सहुलियत दरमा प्रदान गर्दै आएको पुनर्कर्जा २०७८ जेठ मसान्तसम्ममा १ खर्ब ४८ अर्ब ३५ करोड स्वीकृत भएको नेपाल राष्ट्र बैंकले जनाएको छ।
 |  बिहीबार, असार ३१, २०७८

नेपाल समय

नेपाल समय

बिहीबार, असार ३१, २०७८

काठमाडौं– बैंकहरुले सहुलियत दरमा प्रदान गर्दै आएको पुनर्कर्जा २०७८ जेठ मसान्तसम्ममा १ खर्ब ४८ अर्ब ३५ करोड स्वीकृत भएको नेपाल राष्ट्र बैंकले जनाएको छ। राष्ट्र बैंकले जारी गरेको चालु आर्थिक वर्षको ११ महिनाको तथ्यांकअनुसार स्वीकृत भएको रकममध्ये १ खर्ब २७ अर्ब ९ करोड लगानीमा रहेको छ। 

त्यस्तै, २०७८ जेठ मसान्तसम्ममा ९६ हजार ८ सय ५२ ऋणीलाई सहुलियतपूर्ण कर्जा प्रवाह भई १५० अर्ब ९६ करोड कर्जा बक्यौता रहेको छ। यसमध्ये कृषि तथा पशुपंक्षी व्यवसाय कर्जा अन्तर्गत ४४ हजार ७ ऋणीलाई १ खर्ब २ अर्ब ८३ करोड रुपैयाँ कर्जा रहेको छ भने महिला उद्यमशील कर्जा अन्तर्गत ५० हजार ५ सय १३ महिला उद्यमीलाइ ४४ अर्ब ६६ करोड रुपैयाँ कर्जा प्रवाह भएको छ। 

सहुलियतपूर्ण कर्जाका अन्य शीर्षक अन्तर्गत २ हजार ३ सय ३२ ऋणीले ३ अर्ब ४७ करोड कर्जा लिएका छन्। त्यस्तै सरकारले केही समयअघि मात्र सुरु गरेको “व्यावसायिक निरन्तरता कर्जा प्रवाह कार्यविधि, २०७७” बमोजिम कोभिड–१९ प्रभावित पर्यटन र घरेलु, साना तथा मझौला उद्यम क्षेत्रको व्यवसाय निरन्तरतामा सहयोग गर्न ती क्षेत्रका श्रमिक तथा कर्मचारीको पारिश्रमिक भुक्तानीका लागि व्यवस्था गरिएकोकर्जा २०७८ जेठमसान्तसम्ममा ८२ करोड २४ लाख रुपैयाँ स्वीकृत भएको नेपाल राष्ट्र बैंकले जनाएको छ। 

राष्ट्र बैंकका अनुसार हालसम्म सिटिइभिटीबाट प्रमाणप्राप्त संस्थाहरुले दिइएको तालिमका आधारमा दिइने कर्जा जम्मा २ जनाले लिएका छन् भने युवा स्वरोजगार कर्जा ३ र सर्टिफिकेट धितोमा दिइने ऋण जम्मा १४१ जनाले मात्र लगेका छन्। त्यस्तै, प्राविधिक उच्च शिक्षाको लागि दिइने कर्जा जम्मा ८८ जनाले मात्र लगेको राष्ट्र बैंकले उल्लेख गरेको छ। 
 

प्रकाशित: Jul 15, 2021| 07:26 बिहीबार, असार ३१, २०७८
प्रतिक्रिया दिनुहोस्