शनिबार, असोज १७, २०८३

फेरि सल्बलाउँदै नेटवर्किङ व्यवसायी

सरकारले ऐन बनाएर नै नेटवर्किङ व्यवसामा रोक लगाइसकेको छ। तर, पछिल्लो समय केही नेटवर्किङ व्यवसायी फेरि सल्बलाउन थालेका छन्। 
 |  बिहीबार, असार ३१, २०७८

नेपाल समय

नेपाल समय

बिहीबार, असार ३१, २०७८

काठमाडौं- सरकारले ऐन बनाएर नै नेटवर्किङ व्यवसामा रोक लगाइसकेको छ। तर, पछिल्लो समय केही नेटवर्किङ व्यवसायी फेरि सल्बलाउन थालेका छन्। 

वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागकाले गैरकानुनी भन्दै बन्द गरेको नेटवर्किङ व्यवसायमा फेरि केही व्यक्ति सल्बलाई रहेका जानकारी दिएको छ। नेटवर्किङ व्यवसायबाट ठगी बढेको भन्दै यसलाई रोक्नका लागि उजुरी पड्ने क्रम बढेको विभागले जानकारी दिएको छ। 

विभागका अनुसार हाइपर फन्ड ग्लोबल, जोसियल, सीआरयू, वीन्टर, त्राउड वान, सोलम्याक्स, पोइन्ट वीसलगायत कम्पनीहरूले फेरि नेटवर्किङ व्यवसाय गर्न थालेको भन्दै उजुरी पर्न थालेका हुन्। ‘यी कम्पनीले वस्तुको प्रत्यक्ष बिक्रीका नाममा गैर कानुनी रुपले अनलाइन माध्यमको प्रयोग गरी नेटवर्किङ शैलीमा व्यवसाय सञ्चालन गरी नेपाल तथा विदेशमा रहेका नेपालीलाई त्यसमा आबद्ध गरेर ठगी गरेको तथा पुँजी पलायन गरेको उजुरी विभागमा आएको छ। यसप्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ,’ विभागले विज्ञप्ति जारी गर्दै भनेको छ। उजुरीको आधारमा केही व्यक्ति, फर्म तथा कम्पनीमाथि छानविनसमेत भइरहेको विभागका प्रवक्ता शिवराज सेढाईंले बताए।

वस्तुको प्रत्यक्ष बिक्री तथा नियमावली एने २०७६ ले नेटवर्किङ व्यवसाय गर्न नपाउने व्यवस्था गरेको छ। वस्तुको प्रत्यक्ष बिक्रीको नाममा वस्तुको खरिद गरी वा नगरी, सदस्य बनाई वा बिक्रेता तथा वितरकमार्फत शुल्क मात्र लिने गरी पिरामीड आधारमा व्यवसाय गर्न नपाइने विभागले जानकारी दिएको छ। 

उक्त किसिमको कार्य उपभोक्ता संरक्षण ऐन २०७५ अनुसार अनुचित व्यापारिक क्रियाकलापसहित दण्डनीय कसुरका रुपमा मानिने विभागको भनाइ छ। पिरामीड आधारमा हुने नेटवर्किङ व्यवसाय गरेमा १० लाख रुपैयाँसम्म जरिवाना वा ५ वर्षसम्म कैद तथा दुवै सहजाय हुन सक्ने कानुनी प्रावधान रहेको छ। 

यसअघि नेटवर्किङ व्यवसाय बढेको र उपभोक्ता ठगी बढेको भन्दै सरकारले नेटवर्किङ व्यवसायमा रोक लगाएको थियो। संसदको उद्योग वाणिज्य तथा उपभोक्ता हित सम्बद्ध समितिलेसमेत नेटवर्किङ व्यवसायमा रोक लगाउनु पर्ने निर्देशन सरकारलाई दिएको थियो।

प्रकाशित: Jul 15, 2021| 01:42 बिहीबार, असार ३१, २०७८
प्रतिक्रिया दिनुहोस्