काठमाडौं- पेट्रोलियम पदार्थको मूल्यवृद्धि फिर्ता लिन माग गर्दै आन्दोलन गरिरहेका विद्यार्थी संगठन र नेपाल आयल निगमबीच सोमबार छलफल भएको छ।
छलफलमा पछिल्लो समय अन्तर्राष्ट्रिय बजारमा भएको कच्चा तेलको मूल्यवृद्धि अनुसार नै नेपालमा पनि मूल्य बढाइएको जानकारी नेपाल आयल निगमका अधिकारीहरुले गराएका थिए।
छलफलमा पछिल्लो समय पेट्रोलियम पदार्थको मूल्य बढाए पनि निगम घाटामा रहेकाले फिर्ता लिने विषयमा उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयमा जानकारी गराउनुपर्ने निगमका अधिकारीहरुले बताएका थिए। ‘विद्यार्थी संगठनहरुले पनि आफ्नो कुरा राख्नु भयो’ निगमका प्रवक्ता विनित मणि उपाध्यायले भने, ‘निगमका तर्फबाट पनि ब्रिफिङ भयो। बाँकी कुरा भोलिसम्म जानकारी गराउने गरी छलफल सकिएको छ।’
उपाध्यायका अनुसार सोमबारको छलफलमा कुनै पनि निष्कर्ष निस्केन। ‘दुवै तर्फको छलफलपछि थप छलफल गर्ने कुरा भएको छ’ उपाध्यायले भने। निगमले उद्योग वाणिजय तथा आपूर्ति मन्त्रालयमा जानकारी गराएर यस विषयमा मंगलबार विद्यार्थी संगठनहरुलाई जानकारी गराउने सहमति भएको विद्यार्थी संगठनहरुले पनि बताएका छन्।
मंगलबार विज्ञप्ति निकालेर मूल्यवृद्धिको विरोध गर्ने ५ वटा विद्यार्थी संगठनमध्ये एक नेपाल विद्यार्थी संघका अध्यक्ष राजीव ढुंगानाले आफुहरुले राखेको मागमा निगम साकारात्मक रहे पनि ठोस निष्कर्ष ननिस्केको बताए। ‘बढेको मूल्य तत्काल खारेज हुनुपर्छ। आजै खारेज हुनुपर्छ भन्ने हाम्रो कुरा रह्यो’ ढुंगानाले भने, ‘उहाँहरुले भोलिसम्ममा केही निर्णय दिन्छौं। हामी सकारात्मक छौं भनेर भन्नुभएको छ।’
कोरोनाका बेला पेट्रोलियम पदार्थको मूल्यवृद्धि गरेर उपभोक्तालाई थप मारमा पार्न नहुने आफूहरुको माग रहेको उनको भनाइ थियो।
त्यस्तै अनेरास्ववियुका अध्यक्ष रञ्जित तामाङले निगमले मंगलबार बेलुका सम्म फिर्ता गर्ने वा नगर्ने भन्ने सम्बन्धमा जानकारी गराउने भनेकाले मंगलबार साँझसम्मको समय दिइएको बताए। ‘निगमले भोलि बेलुकासम्मको समय मागेको छ। मूल्यवृद्धि फिर्ता लिनका निम्ति माथिल्लो निकायमा छलफल गर्छौं भन्नुभएको छ’ तामाङले भने, ‘आजको राजनीतिक परिवेशले अन्योल बनाएको छ। माथिल्लो निकायमा छलफल गरेर भोलि बेलुकासम्ममा केही निर्णय गरी खबर गर्छौं भन्नु भएको छ।’
यसअघि पाँचवटा विद्यार्थी संगठनले आइतबार विज्ञप्ति जारी गर्दै इन्धनमा बढाइएको मूल्य फिर्ता हुनुपर्ने माग राखेका थिए। मूल्यवृद्धि फिर्ता नलिए निगमका गाडीहरु चल्न नदिने, पेट्रोल पम्प बन्द गर्ने लगायतका चेतावनी विद्यार्थी संगठनले दिएका थिए। त्यसपछि आइतबार नै विज्ञप्ति निकालेर निगमले विद्यार्थी संगठनलाई सोमबार छलफलका लागि बोलाएको थियो।