काठमाडौं- बिमा समितिले हिमालयन रि-इन्स्योरेन्स कम्पनीलाई पुनर्बिमा व्यवसाय सञ्चालनका लागि अनुमति दिएको छ। कम्पनीले तोकिएको पुँजी र भौतिक पूर्वाधार पूरा गरेपछि व्यवसाय सञ्चालन अनुमति दिइएको समितिका कार्यकारी निर्देशक राजुरमण पौडेलले जानकारी दिए।
समितिले पुनर्बिमा कम्पनीका लागि न्यूनतम चुक्ता पुँजी १० अर्ब रुपैयाँ तोकेको छ। कम्पनीले उक्त पुँजीको ७० प्रतिशत जुटाइसकेको छ। बाँकी पुँजी कम्पनी सञ्चालनमा आएपनि प्राथमिक सेयर निष्काशनमार्फत् संकलन हुनेछ।
जेठ दोस्रो साता समितिले हिमालयन रि-इन्स्योरेन्सलाई प्रारम्भिक अनुमति दिएको थियो।
समितिले नयाँ पुनर्बिमा कम्पनीका लागि प्रस्ताव आह्वान गर्दा हिमालयनका साथै अन्नपूर्ण रि-इन्स्योरेन्स, काठमाडौं रि-इन्स्योरेन्स, प्रुडेन्सियल रि-इन्स्योरेन्स र जेन्युन रि-इन्स्योरेन्सले प्रस्ताव गरेको थियो। समितिले गरेको मूल्यांकनमा सबैभन्दा बढी अंक प्राप्त गर्ने कम्पनीलाई अनुमति दिएको दाबी गरे पनि अनियमितता भएको भन्दै समितिका अध्यक्षविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको छ।
हिमालय रि-इन्स्योरेन्समा नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष तथा गोल्छा गु्रपका अध्यक्ष शेखर गोल्छा, पूर्व अध्यक्षद्वय पशुपति मुरारका र भवानी राणा, नेपाल परिसंघका वर्तमान अध्यक्ष सतीश मोरका साथै शंकर ग्रुपका शाहिल अग्रवाल र सुलभ अग्रवाललगायतको लगानी छ।