सोमबार, जेठ ७, २०८१
  • गृहपृष्ठ
  • समाज
  • एमाले किचलो साम्य पार्न ओली–नेपाल संयुक्त वक्तव्यको प्रयास

एमाले किचलो साम्य पार्न ओली–नेपाल संयुक्त वक्तव्यको प्रयास

नेकपा (एमाले) भित्र चर्किएको विवाद समाधान गर्न गठन भएको कार्यदल पुनः क्रियाशील भएको छ। केही समय पूरै निष्क्रिय भएको कार्यदल सोमबारदेखि सक्रिय भएको हो। 
 |  मंगलबार, असार २२, २०७८

बीपी अनमोल

बीपी अनमोल

मंगलबार, असार २२, २०७८

काठमाडौं– नेकपा (एमाले) भित्र चर्किएको विवाद समाधान गर्न गठन भएको कार्यदल पुनः क्रियाशील भएको छ। केही समय पूरै निष्क्रिय भएको कार्यदल सोमबारदेखि सक्रिय भएको हो। 

triton college

गएको जेठ ७ गतेदेखि कार्यदलको बैठक बस्न सकेको थिएन। यद्यपि, यसबीचमा पार्टीका दुवै पक्षका नेताहरुको अनौपचारिक छलफल भने निरन्तर भइरहेको थियो। आइतबार असन्तुष्ट समूहका नेता तथा उपाध्यक्ष भीम रावलले बालुवाटारमा प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष केपी शर्मा ओलीसँग कुराकानी गरेपछि सोमबारबाट कार्यदल सक्रिय भएको हो।

नेता रावलले पार्टी अध्यक्ष ओलीलाई अदालतमा विचाराधीन मुद्दाको फैसला जे आउँछ, त्यसपछि अघि बढ्नुपर्ने भन्दै अहिले हस्ताक्षर फिर्ताको विषयलाई मुद्दा बनाएर सहमति नरोक्न आग्रह गरेका थिए।

कार्यदलले एमालेभित्र देखिएको समस्या समाधानका लागि महत्वपूर्ण निर्णय गर्ने अपेक्षा गरिएको छ। एमालेका दोस्रो तहका नेताहरुले अध्यक्ष ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच वार्ताको प्रयास पनि गरेका थिए। त्यसका लागि ओलीले नेता नेपालसँग टेलिफोन कुराकानी गरेर भेट्न आग्रह गरे पनि नेपालले भने इच्छा देखाएनन्। त्यसपछि उनी निकट नेता भीम रावलले अध्यक्ष ओलीलाई भेटेर सघन वार्ता गरेका थिए। अध्यक्ष ओलीसँग भएको भेटपछि सोमबार बिहान नेता नेपालसँग उनले छलफल गरेका थिए। त्यसपछि कार्यदल ब्युँताएर छलफल थालिएको हो। 

‘हामीले शुरुदेखि नै पार्टी विभाजन हुन नदिन नै चाहेका थियौं तर, संस्थापन पक्षको एकलौटी रुपले रुपले अघि बढ्ने प्रवृतिले समस्या यहाँसम्म आइपुगेको हो,’ नेपाल निकट एक नेता भन्छन्, ‘अब कार्यदलले घनिभूत छलफल गरेर सहमतिको ठोस खाका ल्याओस्।’

corrent noodles
Metro Mart

यसबीचमा संस्थापन पक्षले सर्वोच्च अदालतमा शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन दायर गरिएको रिटमा हस्ताक्षर गर्ने सांसदहरुले फिर्ता लिनुपर्ने अडान राखेको थियो। त्यसका लागि सोमबार बेलुका ५ बजेसम्मको अल्टिमेटम नै दिइएको थियो। 

तर, अब सर्वोच्च अदालतमा दायर मुद्दाको बहस सकिएर फैसला सुनाउने चरणमा पुगिसकेकाले हस्ताक्षर फिर्ता गर्ने विषयको औचित्य सकिएको छ। त्यही कारण पनि एमालेको संस्थापन पक्षले यो विषयलाई भन्दा पनि अब फैसलापछिको अवस्थामा एकताबद्व एमाले बनाउने रणनीति अनुरुप नै लचिलो हुने संकेत देखाएको हो। 

सोमबार बसेको कार्यदलको बैठक यसअघिका अनौपचारिक वार्तामा भएका सहमतिका बुँदा नै केन्द्रित थियो। ‘पार्टीका जति आन्तरिक समस्या छन्, ती समस्यालाई गम्भीर रुपमा विश्लेषण गरेर समाधानका लागि प्रयत्न गर्ने दिशामा नै हामी अघि बढ्छौं,’ एमाले उपाध्यक्ष भीम रावल भन्छन्, ‘एमालेको संस्थागत प्रणालीलाई कसरी एकताबद्व बनाउने भन्ने नै हो।’ 

कार्यदलले पार्टीभित्र देखिएको विवादलाई जसरी पनि हल गर्ने गरेर काम अघि बढाउने बताएको छ। आजको कार्यदलको बैठकबाट सहमतिको मस्यौदा टुंगो लगाउने तयारी गरेको छ।

नेपाल निकट कार्यदल सदस्य नेता सुरेन्द्र पाण्डे आजको बैठकले ठोस निर्णय गर्ने बताउँछन्। ‘हामी पार्टी एकताका लागि निरन्तर पहल गरिनै रहेका छौं, आजको कार्यदलको बैठकबाट कुनै निचोड निकाल्ने प्रयत्न हुनेछ,’ उनले भने। 

यता एमालेको संस्थापन पक्षले पनि कार्यदलले सकारात्मक सन्देश दिने गरेर नै निर्णय गर्ने जनाएको छ। ‘पार्टी अध्यक्ष र वरिष्ठ नेता नेपालबीच संयुक्त वक्तव्य निकालेर पार्टी एकढिक्का भएको सन्देश दिने हिसाबले पनि तयारी भइरहेको छ,’ ओली निकट एक नेता भन्छन्, ‘पार्टीका नेता–कार्यकर्ताको चिन्ता र चासो पार्टीकै विषयमा छ। त्यसैले पनि अब सबै एक कदम पछि हटेर भए पनि केही महत्वपूर्ण निर्णय हुन्छ।’

अनौपचारिक वार्तामा रहेका दोस्रो तहका नेताहरुले केही दिनअघि नेता नेपाललाई भेटेर संयुक्त वक्तव्य निकाल्न सुझाएका थिए। त्यसको जवाफमा नेता नेपालले पनि सहमतिको मस्यौदा तयार पारेर ल्याउन कार्यदलका सदस्यहरुलाई भनेका थिए। कार्यदलले सहमतिको खाका तयार पारेको खण्डमा दुवै नेताहरुको संयुक्त वक्तव्य आउने सम्भावना देखिएको छ। 

जेठ २ गते बनाइएको कार्यदलमा एमाले अध्यक्ष तथा प्रधानमन्त्री ओलीको तर्फबाट नेता सुवासचन्द्र नेम्वाङको नेतृत्वमा विष्णु पौडेल, प्रदीप ज्ञवाली, शंकर पोखरेल र विष्णु रिमाल छन्। खनाल–नेपाल समूहबाट भीम रावलको नेतृत्वमा घनश्याम भुसाल, गोकर्ण विष्ट, सुरेन्द्र पाण्डे र रघुजी पन्त छन्। 

प्रकाशित: Jul 06, 2021| 08:32 मंगलबार, असार २२, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।