शुक्रबार, भदौ ५, २०८३

गौरा महोत्सवका लागि डेउडा प्रतिष्ठानद्वारा उपसमिति गठन

 |  शुक्रबार, भदौ ५, २०८३

नेपाल समय

नेपाल समय

शुक्रबार, भदौ ५, २०८३

धनगढी । सुदूरपश्चिमको मौलिक संस्कृति, परम्परा र पहिचानसँग जोडिएको गौरा पर्वको अवसरमा सुदूरपश्चिम गौरा महोत्सवको ११औं संस्करण भाद्र २० देखि धनगढीमा हुने भएको छ।

हरेक वर्ष डेउडा प्रतिष्ठानको आयोजना हुँदै आएको गौरा महोत्सवलाई यस वर्ष पनि भव्य र व्यवस्थित रूपमा सम्पन्न गर्ने उद्देश्यले  सुदूरपश्चिम  गौरा महोत्सव आयोजक उपसमिति गठन गरिएको महासचिव तोयनाथ भट्टले बताए। 

डेउडा प्रतिष्ठानका उपमहासचिव समेत रहेका प्रेमबिवश चन्दको संयोजकत्वमा ७ सदस्यीय उपसमिति गठन गरिएको छ। सदस्यमा भक्तराज जोशी, बिष्णुभक्त खैर, प्रकाश बहादुर साउँद, सरिता कठायत, धनसरा साउँद, गगन सिंह ऎर रहेका छन्।

विगत ११ वर्षदेखि गर्दै आएको सुदूरपश्चिम गौरा महोत्सवमा सुदूरपश्चिमको मौलिक संस्कृति र परम्पराको संरक्षण तथा प्रवर्द्धनसँगै नयाँ पुस्तालाई आफ्नो कला, संस्कार संस्कृतिसँग जोड्ने र पुस्तान्तरण गर्ने मुल उद्देश्य रहेको डेउडा प्रतिष्ठानका उपमहासचिव एवं  उपसमिति संयोजक प्रेम बिबश चन्दले बताए।

महोत्सवलाई विगतका वर्षभन्दा अझ थप व्यवस्थित, प्रभावकारी र आकर्षक बनाउने तयारी भइरहेको छ। विद्यालय स्तरीय डेउडा प्रस्तुति, सुदूरपश्चिमका चर्चित गायक गायिका (डेउडिया)हरूलाई आमन्त्रण गरेर डेउडा दोहोरी लोकसांस्कृतिक झाँकी, एकल गायन नृत्यसँगै अतिरिक्त कार्यक्रमहरू रहेको डेउडा प्रतिष्ठानका सचिव एवं उपसमिति सदस्य बिष्णु भक्त खैरले बताए।

गौरा पर्व सुदूरपश्चिमको महत्वपूर्ण सांस्कृतिक पर्वका रूपमा परिचित छ। यस अवसरमा आयोजना हुने गौरा महोत्सवले गौरा संस्कृतिको संरक्षणसँगै यसको व्यापक प्रचार–प्रसारमा समेत महत्वपूर्ण योगदान पुर्‍याउँदै आएको छ।

प्रकाशित: Aug 21, 2026| 09:51 शुक्रबार, भदौ ५, २०८३
प्रतिक्रिया दिनुहोस्