शुक्रबार, जेठ ४, २०८१

'काठमाडौंलाई आफ्नै ठान्थे सत्यनारायण, तर होइन रहेछ!'

मोटरसाइकल दुर्घटनामा परी खुट्टा भाँच्चिएका सत्यनारायण राम्रोसँग हिँडडुल गर्न सक्दैनथे। सानेपा राम मन्दिर नजिकै दुई कोठाको फ्ल्याट भाडामा लिएर बसेका थिए। तीन तले घरको भुइँतला खाली नै छ। पहिलो तलामा सत्यनारायण बस्थे र दोेस्रो तलामा घरबेटी।
 |  आइतबार, असार २०, २०७८

अंगद सिंह

अंगद सिंह

आइतबार, असार २०, २०७८

काठमाडौं– भारत राजस्थानका सत्यनारायण पारिक २५ वर्षदेखि काठमाडौंमा काम गरिरहेका थिए। जन्मथलो जत्तिकै प्यारो लाग्थ्यो उनलाई कर्मथलो काठमाडौं। तर, ५९ वर्षीय पारिकको प्राण यही काठमाडौंले हर्‍यो।

triton college

आइतबार बिहान सत्यनारायण आफ्नै फ्ल्याटमा मृत भेटिए। ‘मेरोे दाइले त काठमाडौंलाई आफ्नै ठानेर काम गरेकोे थियो। तर काठमाडौंले नै दाइको प्राण लियो,’ सत्यनारायणका भाइ सञ्जय पारिक भन्छन्। 

मोटरसाइकल दुर्घटनामा परी खुट्टा भाँच्चिएका सत्यनारायण राम्रोसँग हिँडडुल गर्न सक्दैनथे। सानेपा राम मन्दिर नजिकै दुई कोठाको फ्ल्याट भाडामा लिएर बसेका थिए। तीन तले घरको भुइँतला खाली नै छ। पहिलो तलामा सत्यनारायण बस्थे र दोेस्रो तलामा घरबेटी।

पारिकको मृत्यु कसरी भयो भन्नेबारेमा प्रहरी निष्कर्षमा पुगिसकेको छैन। यद्यपि, केही तथ्यहरु फेला परेका छन्। प्रहरीका अनुसार पारिकको टाउकोेको चार–पाँच ठाउँमा ह्यामरले हिर्काएका घाउ छन्। कोठा रगतले लतपतिएको छ। प्रहरीले घटनास्थलबाट ह्यामर बरामद गरेको छ।

घटनास्थलमा एसएसपी किरण बज्राचार्य।

घरको छतमा गम्छा र गन्जी सुकिरहेका थिए पारिकका। ‘अब कसले लगाउँछ यो? दाइ त गयो,’ सञ्जय भक्कानिन्छन्। दुई कोठाको फ्ल्याट लिएर एक्लै बस्दै आएका थिए पारिक। गत वर्षको लकडाउनमा मोटरसाइकल दुर्घटनामा परी दायाँ खुट्टामा चोट लागेको थियो।

corrent noodles
Metro Mart

खुट्टा ठिक नभएकाले उनी काममा पनि त्यति धेरै जाँदैनथे। उमेरले ६० वर्ष पुग्न थालेका सत्यनारायणलाई भाइ सञ्जयले घर जानसमेत सुझाएका थिए। ‘यतै बस्छु, काम छाडेर किन जानु’ भनेर उनले भनेर टारिरहे। ‘मैले त बूढो भइसक्नु भयो घर गएर आराम गर्नुस् भनेको हुँ तर मान्नुभएन। काठमाडौंमा मारिनु लेख्या रहेछ के गर्नु?’ सञ्जयले भने।

राजस्थानको घरमा पनि आफ्नो भन्नु कोही छैन सत्यनारायणको। भएकी एक छोरीको बिहे गरिदिइसकेका थिए। घरबाहेक आफ्नो केही नभएपछि उनी काठमाडौंलाई नै आफ्नोे ठानेर बसे। काठमाडौं नै प्यारोे लाग्न थालेको थियो उनलाई। राजस्थानमा श्रीमती र छोरीको याद लिएर बस्नुभन्दा काम गरेर यतै बस्छु सोचेका थिए उनले।

घटनास्थललाई सुरक्षा दिँदै प्रहरी।

सञ्जयका अनुसार आठ वर्षअघि श्रीमती गुमाएका थिए सत्यनारायणले। एक छोरी छिन्। उनको पोहोर साल बिहेबारी गरिदिए। ‘बूढेसकालको सहारा छैन भनेर पनि घर नगएको हो दाइ,’ सञ्जयले सुनाए।

घटना भएको दिन पनि काम गरेर फर्केका थिए सत्यनारायण। साँझ करिब ५ बजेसम्म उनी अफिसकै काम गरिरहेका थिए। त्यही रात उनको अन्तिम रात बन्यो। हत्याराको खोजीमा जुटेको छ अहिले प्रहरी। ‘कोही मान्छे कसरी यति निर्दयी हुन सक्छ? आँखामा राखे पनि नबिझाउने मान्छे थिए सत्यनारायण,’ उनीसँगै कम्पनीमा काम गर्ने प्रकाश ठाकुरले भने।

पाँच–छ वर्ष भयो ठाकुरले सत्यनारायणलाई चिनेको। तर आजसम्म पनि उनी सत्यनारायणको कसैसँग दुस्मनी नभएको दाबी गर्छन्। ठाकुर र सत्यनारायण दुई वर्षदेखि एउटै कम्पनीमा काम गरिरहेका थिए। सत्यनारायण सेल्सम्यानका रुपमा काम गर्थे भने ठाकुर बजार प्रमुख थिए। खुट्टामा चोट लागेपछि भने उनी खासैै अफिस नआउने गरेको ठाकुर बताउँछन्। ‘लकडाउनपछि घरबाटै काम गरिरहेका थिए, सोझोसिधा मान्छेलाई ह्यामरले हानेर मार्‍यो पापीले,’ ठाकुरले भने।

सत्यनारायण न्युरोडमा रहेको एटलान्टिक कम्प्युटर प्रालिमा काम गरिरहेका थिए। प्रहरीकोे प्रारम्भिक अनुसन्धानले चोरीको प्रकरणमा सत्यनारायणको हत्या भएको देखिएको छ। कोठाको दराज भत्काइएको छ, झ्यालको सिसा फोडिएको छ र जाली च्यातिएको छ। घटनास्थलमा ह्यामर फेला पर्नु, झ्यालको सिसा फोडिनु, टाउकोेमा गम्भीर चोट र कोठामा रगत लतपतिएकोले चोरीको केसमा हत्या भएको देखिएको प्रहरीले बताएको छ। ‘ह्यामरले टाउकोमा चार–पाँच पटक बजारिएको छ, दराज फोडेको छ, हत्या नै भएकोे हो,’ महानगरीय प्रहरी परिसर ललितपुरकी एसएसपी किरण बज्राचार्यले भनिन्।

चोरी गर्ने क्रममा अवरोध गरेपछि चोरले सत्यनारायणको हत्या गरेको हुनसक्ने उनको अनुमान छ। ‘प्रारम्भिक अनुसन्धाले हत्या नैै भएकोे अनुमान गरिएको छ। प्रहरीले थप अनुसन्धान गरिरहेको छ,’ बज्राचार्यले भनिन्।

घटनास्थल नजिक भेला भएका स्थानीयवासी 

सत्यनारायणले खाना बनाउनका लागि एक जना महिला सहयोगी पनि राखेका थिए। ती महिला शनिबार बिहान खाना पकाउन आइन् तर ढोका खुलेन। ढोका नखुलेपछि उनी फर्केर घर गइन्।

आइतबार बिहान पनि उनी आइन् तर पनि ढोका खुलेन। दुई दिनसम्म ढोका नखुलेपछि उनले छिमेकीलाई खबर गरिन् र घटना प्रहरीसम्म पुगेको हो। अनुसन्धानका लागि प्रहरीले घटनास्थलमा तालिम प्राप्त कुकुर परिचालन गरे पनि कुनै ‘क्लु’ भेटिएको छैन।

हत्यारा झ्यालबाट कोठामा प्रवेश गरेको प्रहरीको अनुमान छ। ‘ह्यामरले टाउकोमा बजार्दा धेरै रगत बगेको छ। सत्यनारायणले चोर आएको थाहा पाएपछि चोेरले ह्यामरले हानी हत्या गरेको हुनसक्छ,’ एसएसपी बज्राचार्यले भनिन्।

बज्राचार्यका अनुसार पारिकको शव घोप्टोे परेकोे थियो। घटनाबारे अनुसन्धानका लागि शिक्षण अस्पतालबाट फरेन्सिक चिकित्सकको टोली पनि घटनास्थल पुगेको थियो। शव पोेष्टमार्टमका लागि शिक्षण अस्पताल लगिएको छ। शुक्रकार राति नै हत्या भएको हुनसक्ने प्रहरीको अनुमान छ। 

प्रकाशित: Jul 04, 2021| 12:10 आइतबार, असार २०, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।