शुक्रबार, असोज १६, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • भासिएको कमला पुलको स्ल्याब पनि भत्कियो, युवा आक्रोशित

भासिएको कमला पुलको स्ल्याब पनि भत्कियो, युवा आक्रोशित

अगामी साउनदेखि सञ्चालनमा ल्याउने तयारी भइरहेको पुलको स्पान भासिनुको साथै स्ल्याब पनि भत्किएको हो। पुल भासिएपछि ठेक्केदार कम्पनीलाई कारबाहीका लागि सिरहाका प्रजिअ कणेलले सम्बन्धित निकायमा पत्राचार समेत गरिसकेका बताएका छन्। 
 |  शनिबार, असार १९, २०७८

नेपाल समय

नेपाल समय

शनिबार, असार १९, २०७८

जनकपुरधाम- सिरहा–धनुषा जोड्ने कमला नदीको पुलको स्पान भासिएको केही दिन नबित्दै स्ल्याब समेत भत्किएको छ। बिहीबारदेखिको लगातारको वर्षापछि पुलको १२ वटा स्पानमध्ये एउटा स्पान भासिएको थियो। स्पान भासिएको २ दिन नबित्दै स्ल्याबसमेत भत्किएको हो। 

भासिएको स्पानको दुवै तर्फको स्ल्याब शुक्रबार झरेको सिरहाका प्रमुख जिल्ला अधिकारी प्रदीपराज कणेलले जानकारी दिए। 

पुल निर्माणका लागि सुरुमा पप्पु कन्स्ट्रकसनले २०६८ सालमा ४२ महिनाभित्र सक्ने गरी ठेक्का पाएको थियो। तर, उसले ७ वर्षसम्म पनि निर्माण सम्पन्न नगरेपछि हुलाकी राजमार्ग निर्देशनालय जनकपुरले लुम्बिनी बिल्डर्सलाई २०७८ असार १३ गते काम सक्ने गरी निर्माणको जिम्मा दिएको थियो।

अगामी साउनदेखि सञ्चालनमा ल्याउने तयारी भइरहेको पुलको स्पान भासिनुको साथै स्ल्याब पनि भत्किएको हो। पुल भासिएपछि ठेक्केदार कम्पनीलाई कारबाहीका लागि सिरहाका प्रजिअ कणेलले सम्बन्धित निकायमा पत्राचार समेत गरिसकेका बताएका छन्। 

पुल भासिएको विरोधमा सिरहामा युवाहरूले विरोध प्रदर्शन गरेका छन्। हुलाकी राजमार्ग खण्डको कमला पुल भासिएको घटनाको छानबिन गरी दोषीलाई कारबाहीको माग गर्दै सिरहा सदरमुकाम सिरहामा युवाहरुले प्रदर्शन गरेका हुन्।

कमसल निर्माण गरी भ्रष्टाचार गरिएकाले छानबिन गरी दोषीलाई कारबाही गर्न युवाको माग छ। 'हाम्रो भावनामाथि खेलबाड गर्न पाइँदैन, कमला पुल यथाशीघ्र निर्माण गर' लगायतका नारा लेखिएको प्लेकार्डसहित स्थानीय अगुवा शम्भु साहको नेतृत्वमा युवाहरुले प्रदर्शन गरेका हुन्।
 

प्रकाशित: Jul 03, 2021| 08:23 शनिबार, असार १९, २०७८
प्रतिक्रिया दिनुहोस्