काठमाडौं- नागरिक लगानी कोषले ९ प्रतिशत बोनस सेयर पारित गरेको छ। कोषको शुक्रबार बसेको २६ औं वार्षिक साधारणभाले प्रस्तावित ९ प्रतिशत बोनस सेयर र ८ दशमलव ८९ प्रतिशत नगद लाभांश स्वीकृत गरेको हो।
त्यस्तै सो सभाले आ.ब २०७६/७७ को वार्षिक प्रतिवेदनमाथि छलफल गरी पारित गरेको छ। योसँगै लेखापरीक्षकको प्रतिवेदनसहितको २०७७ असार मसान्तको वासलात, नाफा नोक्सान हिसाब र नगद प्रवाह विवरणमा छलफल गरी पारितसमेत गरेको छ।
कोषले शुक्रबारको साधारणसभामा सेयरधनीलाई भर्चुअल रुपमा सहभागी गराएको थियो। कोषले आधुनिक र सुविधा सम्पन्न कार्यालय भवन निर्माण गर्ने विगत लामो समयदेखिको आकांक्षालाई मूर्तरुप दिई यो वर्ष आफ्नै भवनभित्रबाट भर्चुअल सञ्चालन गरेको हो।
चालू आर्थिक बर्षको जेठ मसान्तसम्ममा कोषले १ खर्ब ७२ अर्ब रुपैयाँ रकम संकलन र १ खर्ब ७१ अर्ब ९७ करोड रुपैयाँ लगानी गरेको छ। यस आवमा कोषको पूँजी वृद्धि हुनका साथै कारोबार विस्तार भई विगतदेखि सञ्चालन हुँदै आएका कोषहरु, हिसाब योजना तथा पूँजी बजारसम्बन्धी सेवासमेत निरन्तर रुपमा सञ्चालन भइरहेको प्रमुख कार्यकारी अधिकृत रमण नेपालले जानकारी दिए।
कोषको आर्थिक वर्ष २०७६/७७ को करपछिको खुद नाफा ६१ करोड ९६ लाख ७० हजार रहेको छ। खुद नाफा मध्ये बाँडफाँड योग्य रकम ५५ करोड ३६ लाख ७२ हजार रहेको छ।
कोषको कारोबार विस्तार गर्न स्वरोजगार र वैदेशिक रोजगारमा रहेका नागरिकलाई आबद्ध गराउने उद्वेश्यले नागरिक पेन्सन योजना कार्यक्रम शुरु गरीसकेको छ। देशको पुँजीबजारको विकास, विस्तार र स्थायित्व प्रदान गर्ने उद्वेश्यले कोषको अग्रसरतामा नागरिक स्टक डिलर कम्पनी स्थापना गरी कारोबार शुरु भएको छ।
कोषद्वारा संचालित सम्पूर्ण कार्यक्रममा एनएलके वेभ बेष्ड सफ्टवेयर पूर्ण रुपमा लागू गरिएको छ। साथै नेपाल सरकारको सरकारी लेखा प्रणाली (सिगास) सफ्टवेयरमा डाटा आदान प्रदान गर्ने कार्य सम्पन्न भएको छ। नयाँ सफ्टवेयरको प्रयोगको लागि आवश्यक उपकरणहरु खरिद गरी कोषको प्रणालीमा जडान गरिसकिएको छ।