शुक्रबार, असोज १६, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • पर्यटन क्षेत्रलाई पुनरुत्थान हुने गरी बजेट ल्याउन पर्यटन बोर्डलाई विज्ञको सुझाव

पर्यटन क्षेत्रलाई पुनरुत्थान हुने गरी बजेट ल्याउन पर्यटन बोर्डलाई विज्ञको सुझाव

पर्यटन क्षेत्रका विज्ञहरुले कोभिड १९ बाट थलिएको पर्यटनलाई पुनरुत्थान गर्न संघ, प्रदेश र स्थानीय तहसँग समन्वय गरी बजेट ल्याउन नेपाल पर्यटन बोर्डलाई सुझाव दिएका छन्।
 |  बिहीबार, असार १७, २०७८

नेपाल समय

नेपाल समय

बिहीबार, असार १७, २०७८

काठमाडौं- पर्यटन क्षेत्रका विज्ञहरुले कोभिड १९ बाट थलिएको पर्यटनलाई पुनरुत्थान गर्न संघ, प्रदेश र स्थानीय तहसँग समन्वय गरी बजेट ल्याउन नेपाल पर्यटन बोर्डलाई सुझाव दिएका छन्। उनीहरुले यो सयममा पर्यटकीय गतिविधि ठप्प हुँदा बोर्डको बजेटको आकार समेत खुम्चिने भन्दै भएको बजेटबाट सिमित तर प्रभावकारी काम गर्न समेत बोर्डलाई सुझाव दिएका छन्। 

बोर्डले आर्थिक वर्ष २०७८/७९ को बजेटका सन्र्दभमा बिहीबार आयोजना गरेको भर्चुअल अन्तर्क्रिया कार्यक्रममा धारणा राख्दै विज्ञहरुले पहिले बोर्डलाई बचाउने र त्यसपछि सिमित स्रोतको अधिकतम प्रयोग हुनेगरी कार्यक्रम तर्जुमा गर्न सुझाव दिए।

उनीहरुले स्वास्थ्य सुरक्षालाई ध्यान दिँदै खोपको सुनिश्चितता गर्न र विस्तारै पर्यटनलाई चलायमान बनाउदै लैजानुपर्नेमा जोड दिए। पूर्व गवर्नर तथा पूर्व पर्यटन सचिव दिपेन्द्रपुरुष ढकालले वर्तमान विषम परस्थितिमा पर्यटन प्रवर्द्धन गर्न संघीय सरकारले बोर्डलाई अनुदान दिनुपर्ने बताए। उनले समस्यामा परेको समय सहयोग गर्ने र भएको समय लिनेगरी अगाडि नबढे पर्यटन प्रवर्द्धनमा आर्थिक समस्या आउने र समग्र पर्यटन क्षेत्र प्रभावित हुने बताए। 

यस्तै विज्ञ डा. विष्णुप्रसाद गौतमले विगतमा भएका कार्यहरुको समीक्षा गर्दै तीनै तहका सरकारबीच समन्वय गरेर बजेट निर्माण तथा पर्यटन प्रवर्द्धनका कार्यक्रम ल्याउनु पर्ने धारणा राखे। यस्तै अर्का विज्ञ डा. पे्रम शर्माले तत्काल अन्तर्राष्ट्रिय पर्यटक आउने सम्भावना कम रहेकोले आन्तरिक पर्यटन प्रवर्द्धन गर्ने खालको बजेट तर्जुमा गर्न सुझाव दिए।
यस्तै विज्ञहरु प्राध्यापक डा.सोमप्रसाद खतिवडा, रामचन्द्र सेढाई, चेतनाथ कंडेल तथा सूर्यकिरण श्रेष्ठले बोर्डले सरोकारवालाई समेटेर कम्तिमा २ देखि ३ वर्षको रिकभरी र रिभाइवल योजना बनाउनु पर्ने र सोही अनुरुप पर्यटन प्रर्वद्धनका कार्य अगाडि बढाउनु पर्ने बताए।

यस्तै विज्ञहरु डा. आलोक राई, रमेश उपाध्याय, पशुपति न्यौपाने र ज्ञानेन्द्ररत्न तुलाधरले कोभिड चुनौतीसँगै अवसर पनि भएकोले यो समयमा जनशक्ति विकास, पर्यटकीय प्रडक्टको विकास गर्दै डिजिटल मार्केटिङमा जोड दिनुपर्ने बताए। 
यसैगरी पर्यटन व्यवसायीहरु विजय अमात्य, विक्रम पाण्डे काजी र सिएन पाण्डेले स्रोतको कमी भएको अवस्थामा प्राथमिकता निर्धारण गरेर काम गर्न आग्रह गर्दै पूर्वाधार भन्दा नयाँ पर्यटकीय प्रडक्ट र बजारीकरणलाई जोड दिनेगरी बजेट बनाउन बोर्डलाई आग्रह गरे।

अन्तर्क्रियामा बोर्डका उपाध्यक्ष तथा स्रोत व्यवस्थान एवं कार्यक्रम तथा बजेट व्यवस्थापन समितिका संयोजक चन्द्रप्रसाद रिजालले कोभिडको कारण पर्यटन व्यवसाय ठप्प भएको अवस्थामा बोर्ड बजेट निमार्णको चरणमा रहे पनि सिमित साधनबाट अधिकतम काम गर्ने गरी आफूहरुले तयारी गरिरहेको जानकारी दिए। 

उनले विज्ञहरुका सुझावलाई समेटेर बोर्डले नीतिगत सुधारका काम अगाडि बढाउने बताए। उनले थोरै बजेट भएपनि सातै प्रदेशमा केही देखिने गरी काम गर्ने योजनामा बोर्ड रहेको र विज्ञहरुका सुझावले बजेट निर्माणमा सहयोग पुग्ने बताए। 
यस्तै बोर्डका अर्का सदस्य कृष्ण शाह तथा पम्फा पौडेल धमलाले कठिन परस्थितीमा पनि बोर्डले स्रोत व्यवस्थापनका लागि विभिन्न निकायहरसँग समन्वय गरिरहेको जानकारी दिए। यस्तै उनीहरुले बोर्डले स्रोत खुम्चिएको अवस्थामा सरकारसँग सहयोगको अपेक्षा गरेको समेत बताए। 

यसैबीच बिहीबार नै बोर्डले बजेटका सनर्दभमा सञ्चारकर्मीहरुसँग पनि अन्तर्क्रिया आयोजना गरेको थियो। कार्यक्रममा पत्रकारहरुले स्रोतको अभावका समयमा सिमित तर प्रभावकारी योजनामा मात्र रकम खर्च गर्न, डिजिटल मार्केटिङ र आन्तरिक पर्यटन प्रवर्द्धनका कार्यक्रम ल्याउन बोर्डलाई सुझाव दिएका थिए। यस्तै उनीहरुले प्रादेशिक रुपमा सबै प्रदेशमा केही हुने गरी बजेट बनाउन र प्रवर्द्धनका कार्यक्रम ल्याउनसमेत सुझाव दिए।

प्रकाशित: Jul 01, 2021| 15:15 बिहीबार, असार १७, २०७८
प्रतिक्रिया दिनुहोस्