काठमाडौं– मलेसियन अटोमोबाइल कम्पनी प्रोटोनको एस यु भी एक्स ७० नेपालमा सार्वजनिक भएको छ।
प्रोटोनका गाडी नेपालमा जनदम्बा मोटर्सले ल्याएको हो। वेबिनारमार्पफत सार्वजनिक गरिएको कार्यत्रममा शंकर ग्रुपका अध्यक्ष शाहिल अग्रवालले भने, 'प्रोटोन एक्स ७० मलेसियामा मात्र नभई संसारका धेरै मुलुकहरूमा ख्याती र सफलता हात पारेको एसयुभी हो। प्रोटोन एक्स ७० ले नेपाली अटोमोबाइल बजारमा एउटा नयाँ अध्यायको थालनी गर्ने छ।'
प्रोटोनको सेवा, सुविधा, पाटपुर्जाको उपलब्धता र विश्वसनियताबारे प्रतिवद्धता जनाउँदै उनले प्रोटोनको सेल्स र सर्भिसलाई डिलरमार्फत मुलुकभर पुर्याउने बताए।
प्रिमियम इन्टेलिजेन्ट एसयुभीको नामबाट प्रसिद्धि कमाएको यस गाडीमा रहेको इन्टेलिजेन्ट की ले ढोका बन्द गर्ने र खोल्ने काम सजिलै गर्दछ । यदि ढोका राम्रोसँग लक भएको छैन भने त्यसको सूचना दिलाउँदछ जसले गाडीभित्र रहेको सामान चोरी हुन वा हराउन बाट जोगाउँदछ।
यसैगरी यसमा रहेको अत्याधुनिक भोइस कमान्ड सिस्टमले गाडीभित्र चालक र यात्रुले हातले गर्नुपर्ने अधिकांश कामलाई बोलीको भरमा निप्ट्याउन सहयोग पुर्याउँदछ। भोइस कमान्ड सिस्टमले एयर कन्डिसनर कन्ट्रोल, समय, फोनकल, आफूले चाहेको संगीत सुन्ने, एसियाली मानिसको पहिचान, गाडीका विभिन्न फिचर्सबारे सोधपुछ देखि लिएर गाडीको पूरै सिस्टम कन्ट्रोल गर्न सक्नेसम्म काम गर्दछ ।
साथै यस गाडीमा अत्याधुनिक मोबाइल कनेक्टिभिटि टेक्नोलोजी समेत जडित रहेको छ । जस अन्तर्गत चालकले सिस्टममा आफ्नो मोबाइल फोन कनेक्ट गरेर नेभिगेसन, फोन, म्युजिक र अन्य सेवाको उपयोग गर्न सक्नेछन्।
सुरक्षाका अत्याधुनिक फिचर्सहरू समाहित गरेर तयार गरिएको यस एसयुभीमा रहेको एड्भान्स ड्राइभर एसिस्ट सिस्टम अन्तर्गत रहेको थ्री डी होलोग्राफिक डिटेक्सन सिस्टममा २ ओटा सेन्सर, ५ ओटा क्यामेरा र ९ ओटा राडर समाहित रहेका छन् जुन चाहिँ इन्टेरियर लाइटिङ र गाडीको आवाजसँग कनेक्टेड हुन्छन् र आउने अफ्ट्यारो परिस्थितिको चेतावनी दिइरहन्छन् ।
यसैगरी यसमा रहेको प्रि कोलिजन सेफ्टी सिस्टम र अटोनोमस इमर्जेन्सी ब्रेकिङ सिस्टमले बाटोका ट्राफिक स्थितिलाई डिटेक्ट गर्दछ र यदि कुनै वस्तुसँग ठोक्किन लागेको चाल पाएमा ड्राइभरलाई चेतावनी समेत प्रदान गर्दछ।
यसैगरी यो गाडी क्षमताको दृष्टिकोणले समेत अधिक शक्तिशाली रहेको कम्पनीले जनाएको छ । यसमा उच्चस्तरीय अन्तराष्ट्रिय कम्पनी भल्भोसंग मिलेर प्रोटोनले संयुक्त रूपमा यसमा रहेको १।५ लिटरको टर्बोचार्ज्ड ग्यासोलाइन डाइरेक्ट इन्जेक्सन (टीजीडीआई) थ्री सिलिन्डर इन्जिन समाहित गरेको जनाइएको छ । यसले कम तेल खपत, कम फ्रिक्सन क्षति, छिटो रेस्पोन्स र गज्जबको ड्राइभिङ अनुभव प्रदान गर्ने कम्पनीले जनाएको छ ।
गाडीको सुरूवाती मूल्य ८६ लाख ९९ हजार रहेको कम्पनीले जनाएको छ ।