काठमाडौं– पूर्व महान्यायाधिवक्ता तथा वरिष्ठ अधिवक्ता अग्नि खरेलले नेपालको संविधान बहुलवादमा आधारित संविधान भएको र यसले दलमा विश्वास राख्ने बताएका छन्।
सर्वोच्च अदालतको संवैधानिक इजलासमा प्रतिनिधिसभा विघटनसम्बन्धी रिटमा बहस गर्दै उनले दुई वा दुईभन्दा बढी दलले समर्थन गरेको संसदीय दलको सदस्य प्रधानमन्त्री बन्ने संविधानमा स्पष्ट उल्लेख भएको बताए।
संविधानको धारा ७६ (५) अन्तर्गत शेरबहादुर देउवाले प्रधानमन्त्री पदमा नियुक्त गरियोस् भनेर दाबी गरे पनि आधार प्रस्तुत नगरेको उनको भनाइ थियो। देउवालाई एमाले र जसपाले समर्थन नगरेको जिकिर गर्दै उनले समर्थन गर्ने सांसदको पार्टीको नाम पनि उल्लेख नगरिएको बताए।
दलीय व्यवस्थामा दलको समर्थनको बहुमत चाहिने तर्क गर्दै उनले विश्वासको मत लिन सक्ने आधार प्रस्तुत गर्ने आधार नदेखिएकोले देउवाको दाबी पुष्टि हुन नसकेको बताए।
दलीय व्यवस्थामा दलको समर्थन अनिवार्य हुनुका साथै दलको ह्विप लाग्ने भन्दै खरेलले अरु दलका जनप्रतिनिधि चोरेर लगेर दाबी गर्न नमिल्ने बताए।