काठमाडौं- वैदेशिक रोजगार विभाग श्रम कार्यालय ताहाचलले आउँदो आइतबारदेखि नियमित सेवा प्रदान गर्ने भएको वैदेशिक रोजगार विभागका महानिर्देशक कृष्णप्रसाद दवाडीले जानकारी दिए।
कोरोना संक्रमण रोकथामका लागि भएको निषेधाज्ञामा हप्तामा तीन दिन श्रम स्वीकृति प्रदान गर्दै आएको कार्यालयले आउँदो आइतबार अर्थात असार २० गतेदेखि नियमित रूपमा सेवा प्रदान गर्ने विभागले जनाएको छ।
गएको वैशाख २४ गतेदेखि कार्यालयले भौतिक रूपमा उपस्थित भएर प्रदान गर्ने सेवा बन्द गरिएको थियो। तर, सरकारले निषेधाज्ञासँगै अन्तर्राष्ट्रिय उडान खुलाउँदै लगेपछि कार्यालयले नियमित रूपमा श्रम स्वीकृति प्रदान गर्ने जनाएको छ।
अहिले पनि बायोमेट्रिक भएका र अनलाइनबाटै पनि श्रम स्वीकृति लिन मिल्ने व्यक्तिहरूलाई अनलाइनबाटै सेवा लिन विभागले अनुरोध गरेको छ।