काठमाडौं- नेकपा एमालेको संस्थापन पक्षले शुक्रबार बोलाइएको पार्टीको केन्द्रीय कमिटीको बैठकमा असन्तुष्ट पक्षलाई पनि सहभागी गराउन दौडधुप तीव्र पारेको छ।
बुधबार अबेररातिसम्म ओली र नेपाल पक्षका दोस्रो तहका नेताहरूबीच ललितपुरको समिट होटलमा छलफल भएको थियो। आज बिहानै पनि दुवै पक्षका नेताहरूबीच सोही होटलमा सवा दुईघन्टा वार्ता भएको छ।
संस्थापन पक्षका नेता सुवास नेम्वाङ, विष्णु पौडेल, शंकर पोखरेल र माधव नेपाल पक्षका सुरेन्द्र पाण्डे, भीम आचार्य, घनश्याम भुसाल र गोकर्ण विष्टबीच वार्ता भएको हो।
एमाले संसदीय दलका उपनेता एव वार्तामा सहभागी नेता सुवास नेम्बाङले छलफल भएको पुष्टि गरे।
‘हामीले आज बिहान पनि छलफल गर्यौं । बैठकमा उहाँहरु सहभागी हुने कुरो टुंगिएको छै,’ उनले भने,‘संवाद निरन्तर जारी छ।’
उनले आज साँझ पनि दुवै पक्षका नेताहरूबीच छलफल हुने जानकारी दिए। संस्थापन पक्षले असन्तुष्ट पक्षलाई शुक्रबारको बैठकमा सहभागी हुन आग्रह गरेको भए पनि असन्तुष्ट पक्षले भने भोलीका लागि बोलाइएको बैठक सार्न प्रस्ताव गरेको छ।
‘केही नमिलेका विषयहरु छन्। ती विषयमा टुंगो पुग्नुपर्ने देखिएकाले बैठक केही दिन सार्न भनेका हौं,’वार्तामा सहभागी असन्तुष्ट पक्षका एक नेताले भने,‘हामी आन्तरिक रुपमा पनि छलफल गरेर धारणा सार्वजनिक गर्छौं।’
संस्थापन पक्षले दशौं राष्ट्रिय महाधिवेशन आयोजक कमिटी भंग गरी २०७५ जेठ २ अघिकै पदाधिकारीका हैसियतमा माधव नेपाल पक्षसहितको बैठक बोलाएको भनेको छ। तर, माओवादी केन्द्रबाट आएका नेताहरु पनि केन्द्रीय कमिटीमा रहने निर्णयले भने असन्तुष्ट पक्ष संशक्ति छ।