काठमाडौं- नेपाल राष्ट्र बैंकले १० वटा बैंक तथा वित्तीय संस्थालाई मर्जर तथा प्राप्तिको अन्तिम स्वीकृति दिएको छ। मंगलबार बसेको राष्ट्र बैंकको सञ्चालक समितिको बैठकले २ वटा बाणिज्य बैंक, ४ वटा फाइनान्स र ४ वटा माइक्रोफाइनान्स कम्पनीलाई मर्जर तथा प्राप्तिको लागि अन्तिम स्वीकृति दिएको हो।
ती बैंक तथा वित्तिय संस्थाले एक महिनाभित्र अन्तिम कारोबार सुरु गर्नुपर्ने हुन्छ। तर, मंगलबार स्वीकति पाएका बैंक तथा वित्तिय संस्थाले भने चालु आर्थिक वर्षको अन्तिमसम्ममा एकीकृत कारोबार गर्न सक्नेछन्।
किनकि चालु आर्थिक वर्ष सकिएपछि सवैले छुट्टाछुट्टै लेखापरीक्षण, वार्षिकक साधारणसभालगायत काम गर्नुपर्ने हुँदा थप खर्च लाग्ने भएकोले उनीहरूले यही असार मसान्तभित्रै एकीकृत कारोबार गर्न सक्नेछन्।
राष्ट्र बैंकका अनुसार सिटिजन्स बैंकले सिर्जना फाइनान्सलाई प्राप्ति गर्न, नबिल बैंकले युनाइटेड फाइनान्सलाई प्राप्ति गर्न अन्तिम स्वीकृति पाएको हो।
त्यस्तै सिवाइसी लघुवित्तले शालिग्राम लघुवित्तलाई, नेपाल फाइनान्सले ललितपुर फाइनान्सलाई र नेशनल माइक्रोफाइनान्सले महिला सहयात्रा लघुवित्तलाई प्राप्तिको अन्तिम स्वीकृति पाएका हुन्।