काठमाडौं- गएराती देखिको अविरल वर्षाका कारण मकवानपुरको विभिन्न स्थानमा पहिरो खसेको छ।
बिहीबार रातीबाट परेको अबिरल वर्षाका कारण त्रिभुवन राजपथअन्तर्गत भिमफेदी-१ बाघझोरामा सवारी आवागमन अवरुद्ध बनेको छ। अहिले बाटो अवरुद्ध हुँदा सवारी आवागमनमा समस्या परेको प्रहरीले जनाएको छ।
त्यसैगरी कैलाश-१ डाँडाखर्क नजिक पहिरो जाँदा डाँडाखर्क पालुङ जोडने सडक खण्डअवरुद्ध भएको जनाइएको छ। यता लगातारको वर्षाले कान्तिराजपथस्थित भिमफेदी-८ गगंटेमा पहिरो जाँदा कान्तिराजपथ अवरुद्ध बनेको मकवानपुरका निमित्त प्रहरी प्रवक्ता प्रहरी निरीक्षक देवेन्द्र दासले जानकारी दिए।
यता पहिरोको कारण बुधबारबाट अवरुद्ध बनेको भिमफेदी-कुलेखानी सडकखण्ड अझै खुल्न सकेको छैन। लागातार पानी परिरहेकोले पहिरो हटाउन समस्या देखिएको प्रहरीले जनाएको छ।