आइतबार, भदौ ७, २०८३
  • गृहपृष्ठ
  • समाज
  • सहायक रथीले ठगी मुद्दाका आरोपितलाई संरक्षण गरेको आरोप

सहायक रथीले ठगी मुद्दाका आरोपितलाई संरक्षण गरेको आरोप

नेपाली सेनाका एक उच्च अधिकारीमाथि ठगी मुद्दाका आरोपितलाई उन्मुक्ति दिलाउन शक्तिको दुरुपयोग गरेको आराेप लागेकाे छ।
 |  बिहीबार, असार १७, २०७८

नेपाल समय

नेपाल समय

बिहीबार, असार १७, २०७८

जनकपुरधाम- नेपाली सेनाका एक उच्च अधिकारीमाथि ठगी मुद्दाका आरोपितलाई उन्मुक्ति दिलाउन शक्तिको दुरुपयोग गरेको आराेप लागेकाे छ। सिरहाको चोहर्वास्थित नेपाली सेनाको २७ नम्बर बाहिनीका सहायक रथी हेमराज केसीमाथि प्रहरी प्रशासन तथा वकिलहरुलाई प्रभावमा पारेर ठगी मुद्दाका अभियुक्त प्रेमकुमार मल्ललाई उन्मुक्ति दिलाउन खोजेको आराेप लागेकाे हाे।

केसीले धनुषाका प्रहरी उपरीक्षक प्रकाश रानाभाट, सरकारी वकिल कार्यालयका वकिल सीताराम अर्याललाई प्रभावमा पारेर ठगी मुद्दाका अभियुक्त मल्ललाई उन्मुक्ति दिलाएको आरोप एक निर्माण व्यवसायीले लगाएका छन्। निर्माण व्यवसायी राजकिशोर साहले सहायक रथी केसी आरोपित मल्लको सम्धी नाता पर्ने भएकाले उन्मुक्ति दिलाउन पदीय दुरुपयोग गरिरहेको बताए।

ठगी मुद्दा खेपिरहेका मल्ल ललितपुरको सानेपाका प्रेरा निर्माण सेवाका सञ्चालक हुन्। व्यापारिक साझेदार राजकिशोर साहसँग जग्गा खरिद प्रकरणमा ठगी मुद्दा खेपिरहेका उनलाई सहायक रथी केसीले प्रहरी प्रमुख र सरकारी वकिलसँगको मिलेमतोमा स्वास्थ्यको कारण देखाउँदै छुटाएको आरोप ‘पीडित पक्ष’ ले लगाएको छ।

मल्ललाई उन्मुक्ति दिलाउन करोडौं रुपैयाँको सेटिङ भइरहेको निर्माण व्यवसायी साहको आरोप छ। मंगलबार राति ठगी मुद्दामा प्रहरी हिरासतमा रहेका ठेकेदार मल्ललाई बुधबार बिहान प्रहरी छानबिन तथा अदालतमा पेस नै नगरी रिहा गरेपछि राजकिशोर साहले पत्रकार सम्मेलन गरी सहायक रथी केसीले आफूलाई धम्की दिइरहेकाले जिउज्यानसमेत खतरामा रहेको बताए। ठेकेदार मल्ललाई ठगी मुद्दामा धनुषा प्रहरीले हिरासतमा राखे पनि पछि अस्वस्थ्य रहेको भनी छाडिएको थियो।

ठेकेदार साहले भने, ‘वकिलको कार्यालयबाट सहायक रथीकै गाडीमा बसेर जनकपुरस्थित नेपाल राष्ट्र बैंक गए। त्यहाँ खाजा खाएर महेन्द्रनगरस्थित सेनाको गण पुगे, त्यसपछि उनी बर्दिबासतिर लागे।’

मल्ललाई सहायक रथी केसीले आफ्नै गाडीमा राखेर दलबलसहित जनकपुरधाममा ल्याएका थिए। जनकपुरधाम आएपछि उनी सीधै सरकारी वकिल कार्यालय पुगे पनि फरार सूचीमा रहेका मल्ललाई भने धनुषा प्रहरीले पक्राउ गर्न कुनै पनि तदारुकता देखाएन।

ठेकेदार साहले भने, ‘वकिलको कार्यालयबाट सहायक रथीकै गाडीमा बसेर जनकपुरस्थित नेपाल राष्ट्र बैंक गए। त्यहाँ खाजा खाएर महेन्द्रनगरस्थित सेनाको गण पुगे, त्यसपछि उनी बर्दिबासतिर लागे।’

धनुषाका प्रहरी उपरीक्षक रानाभाटले ठेकेदार मल्ललाई प्रहरी कार्यालयमा हाजिर भएपछि सरकारी वकिलको कार्यालय पठाएको दाबी गरे पनि थप केही बताएनन्। ठेकेदार मल्ल जनकपुरका राजकुमार साहसँग साझेदारीमै ठेक्कापट्टा गर्दै आएका थिए। तीन वर्षअघि साहले जनकपुरधामको थापा चोकस्थित २२ धुर जग्गा ठेकेदार मल्लका नाममा पास गरिदिएका थिए।

व्यवसायका लागि दुई करोड रुपैयाँ लगानी गर्न मल्लका नाममा पास गरिएको उक्त जग्गा सम्झौताविपरीत जानकारी नै नदिई बेचेको भन्दै मल्लमाथि साहले जिल्ला प्रहरी कार्यालय धनुषामा ठगी मुद्दा दर्ता गराएका छन्।

ठेकेदार साहले भने, ‘फिर्ता गर्ने सर्तमा मल्लमा नाममा जग्गा पास गरिदिएका थियौं तर मलाई जानकारी नै नदिई जग्गा बेचेको धेरै पछि थाहा पाएँ। अहिले म घरको न घाटको भएको छु।’  उक्त जग्गाकाे भाउ १० करोड रूपैयाँभन्दा बढी पुगेकाे उनले बताए।

ठगी मुद्दा चलेपछि ठेकेदार मल्लको सम्पत्ति र विभिन्न बैंकमा रहेका खाता रोक्का भएकाे छ। खाता सञ्चालनका लागि मल्लले प्रहरी, वकिल कार्यालयलगायत सबैतिर आर्थिक चलखेल गरिरहेको साहको आरोप छ। उनले भने, ‘ठगी मुद्दा खारेजी गर्न ठूलो रकमको चलखेल भएको छ। अदालतबाट न्याय पाउँछु भन्ने विश्वास थियो। तर सहायक रथी केसीले प्रहरी उपरीक्षक रानाभाट र सरकारी वकिलसँग मिलेर ममाथि अन्याय गर्न लागेका छन्।’

प्रकाशित: Jul 01, 2021| 03:05 बिहीबार, असार १७, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।