काठमाडौं- युनियन लाइफ इन्स्योरेन्स कम्पनीको ६४ लाख ५० हजार कित्ता सर्वसाधरणको लागि प्राथमिक सेयर (आइपिओ) असार २४ गतेदेखि बिक्री खुल्ला हुने भएको छ। बिक्री प्रबन्धक प्रभु क्यापिटलका अनुसार कम्पनीको आइपीओमा २८ गतेसम्म आवेदन दिने समय रहने छ।
कम्पनीको आइपिओमा न्यूनतम १० कित्ता र अधिकतम ३२ हजार २५० कित्तासम्मका लागि आवेदन दिन सकिनेछ। कम्पनीको सेयरका लागि मेरो सेयरमार्फत वा आफ्नो खाता रहेको बैंक शाखाबाट पनि आवेदन भर्न सकिनेछ।
युनियन लाइफ नयाँ जीवन बीमा कम्पनी हो। इक्रा नेपालले कम्पनीको रेटिङ ट्रिपल बी दिएको छ। यसले कम्पनीको जोखिम बहन गर्नसक्ने क्षमता औषत रहेको जनाउँछ। यसअघि प्रभु, ज्योति र रिलायन्स लाइफले आइपिओ जारी गरिसकेका छन्।
आइएमई, रिलायबल, सिटिजन, सन नेपाल, सानिमा र महालक्ष्मी लाइफ इन्स्योरेन्सले भने आइपिओ जारी गरेका छैनन्।
कम्पनीले चैत मसान्तसम्म खुद ८ अर्ब २५ करोड रुपैयाँ नाफा कमाएको छ। सो अवधिसम्म कम्पनीको खुद बीमा शुल्क ५ अर्ब रुपैयाँ पुगेको छ। शुलभ अग्रवाल, शेखर गोल्छा, शाहिलकुमार अग्रवाल, सन्दीपकुमार अग्रवाललगायत कम्पनीका संस्थापक हुन्।