सोमबार, असोज १९, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • प्रभु र सिभिल बैंकका सीईओ र सञ्चालक कारबाहीमा, स्ट्याण्डर्ड र लक्ष्मीले तिरे ७८ लाख जरिवाना

प्रभु र सिभिल बैंकका सीईओ र सञ्चालक कारबाहीमा, स्ट्याण्डर्ड र लक्ष्मीले तिरे ७८ लाख जरिवाना

नेपाल राष्ट्र बैंकले ६ वटा वाणिज्य बैंकलाई कारबाही तथा जरिवाना तिराएको छ। 
 |  मंगलबार, असार १५, २०७८

नेपाल समय

नेपाल समय

मंगलबार, असार १५, २०७८

काठमाडौं– नेपाल राष्ट्र बैंकले ६ वटा वाणिज्य बैंकलाई कारबाही तथा जरिवाना तिराएको छ। 

नेपाल राष्ट्र बैंकले दिएको निर्देशन विपरीत काम गरेको भन्दै विदेशी लगानीको बैंक स्ट्याण्डर्ड चार्टर्ड बैंकदेखि सरकारी लगानीको राष्ट्रिय वाणिज्य बैंक, प्रभु, सिभिल, लक्ष्मी र ग्लोबल आइएमई बैंक कारबाहीमा परेका हुन्। नेपाल राष्ट्र बैंकले दोस्रो र तेस्रो त्रैमासिकमा गरेको स्थलगत अनुगमनका क्रममा नीति निर्देशन विपरीत कारोबार गरेको भेटिएपछि सञ्चालकहरुसमेत कारवाहीमा परेका हुन्। 

केन्द्रीय बैंकले प्रभु बैंकका सीईओ अशोक शेरचनसहित तत्कालिन सञ्चालक समितिका अध्यक्ष देवीप्रकाश भट्टचन, तत्कालीन सञ्चालकहरु रमेश सिंह खड्का, अम्बिका शर्मा, पुष्पबहादुर प्रधान, दक्ष पौडेललाई बोलाएर सचेत गराएको हो।

हाल भट्टचनले अध्यक्षबाट राजीनामा दिइसकेका छन् भने अन्य सञ्चालकहरु कोही पनि छैनन्। केन्द्रीय बैंकका अनुसार सञ्चालक वा निजका एकाघर परिवारका सदस्यले १० प्रतिशतभन्दा बढी सेयर लिएको फर्म, कम्पनीलाई र संस्थालाई कर्जा सापटी÷गैरकोषमा आधारित सुविधा प्रदान गर्न बन्देज लगाए पनि प्रभु मनि ट्रान्सफर र बैंकबीच कारोबार भएको भेटिएको थियो। 

त्यस्तै राष्ट्र बैंकले सिभिल बैंकका अध्यक्ष इच्छाराज तामाङलाई नसिहत दिएको छ। बैंकका ऋणीसँग अप्रत्यक्ष कारोबार गरेको भेटिएपछि बैंकका अध्यक्ष तामाङ नसिहतमा परेका हुन्। त्यस्तै बैंकलाई सम्पति शुद्दिकरणसम्बन्धी ऐन तथा निर्देशनका व्यवस्थाहरु पालान नगरेको भन्दै १० लाख रुपैयाँ जरिवाना समेत गरेको छ। 

राष्ट्र बैंकले एकिकृत निर्देशन २०७७ मा सञ्चालक निजको वित्तीय स्वार्थ रहेको ग्राहकसँगको कारोबारमा प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा संलग्न हुनु नहुने निर्देशन पालना नगरेकाले उनलाई राष्ट्र बैंक ऐनको प्रावधान अनुसार कारवाही गरिएको जनाएको छ। 

राष्ट्र बैंकले पहिलो र दोस्रो त्रैमासमा चार बाणिज्य बैंकलाई कारवाही गरेको थियो। यस अवधिमा लक्ष्मी बैंक, स्ट्याण्डर्ड चार्टर्ड बैंक, ग्लोबल आइएमई बैंक, राष्ट्रिय वाणिज्य बैंक कारवाहीमा परेका थिए। 

यस अवधिमा प्राथमिकता प्राप्त क्षेत्रमा तोकिएको सीमामा कर्जा प्रवाह नगरेको पाइएपछि स्ट्यान्डर्ड चार्टर्ड बैंकलाई ५७ लाख ८४ हजार ६ सय १७ रुपैयाँ हर्जना तिराएको थियो। 

यसैगरी कर्जा, पुर्नकर्जा र सहूलियत कर्जा प्रदान गर्दा तोकिएको प्रक्रिया पुरा नगरेको भन्दै स्ट्यान्डर्ड चार्टर्ड र ग्लोवल आइएमइ बैंकका साथै राष्ट्रिय वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत किरण कुमार श्रेष्ठलाई सचेत गराएको हो। 

यस्तै सम्पत्ति शुद्धिकरण सम्बन्धी ऐन र निर्देशन पालना नगरेको भन्दै लक्ष्मी बैंकलाई समेत २० लाख रुपैयाँ जरिवाना गराएको राष्ट्र बैंकले जनाएको छ। 

प्रकाशित: Jun 29, 2021| 15:47 मंगलबार, असार १५, २०७८
प्रतिक्रिया दिनुहोस्