आइतबार, भदौ ७, २०८३
  • गृहपृष्ठ
  • समाज
  • महाधिवेशन केन्द्रित छलफल घनिभूत बनाउने निधि, कोइराला र सिंहको निष्कर्ष

महाधिवेशन केन्द्रित छलफल घनिभूत बनाउने निधि, कोइराला र सिंहको निष्कर्ष

नेपाली कांग्रेसका उपभापति विमलेन्द्र निधि, महामन्त्री डा. शशांक कोइराला र पूर्वमहामन्त्री प्रकाशमान सिंहले महाधिवेशन केन्द्रित छलफललाई थप घनिभूत बनाउने भएका छन्।
 |  मंगलबार, असार १५, २०७८

नेपाल समय

नेपाल समय

मंगलबार, असार १५, २०७८

काठमाडौं– नेपाली कांग्रेसका उपभापति विमलेन्द्र निधि, महामन्त्री डा. शशांक कोइराला र पूर्वमहामन्त्री प्रकाशमान सिंहले महाधिवेशन केन्द्रित छलफललाई थप घनिभूत बनाउने भएका छन्।

मंगलबार सिंह निवास चाक्सीबारीमा भएको तीन नेताबीचको छलफलले पार्टीका सबै नेताहरुका बीचमा बहसलाई थप घनिभूत बनाउनुपर्ने निष्कर्ष निकालेको हो।  

त्यसका लागि पार्टीका सबै केन्द्रीय सदस्य र १३ औं महाधिवेशनमा सभापतिका उम्मेदवारसँग छलफल गर्ने निधो तीन नेताले गरेका छन्। आफूहरुबीचको छलफलले देशभरका कार्यकर्तामाझ आकर्षण बढाएको र अन्य नेताहरुसँग पनि छलफल अघि बढाउनुपर्नेमा निष्कर्ष मंगलबारको छलफलले निकालेको सिंहले जानकारी दिए। ‘हामीबीचको छलफलले देशभर आकर्षण बढेको छ। तर, हामी तीन जना मात्रै बसेर केही हुन्न। सबैको चाहना पार्टी राम्रोसँग सञ्चालन हुनपर्यो भन्ने छ,’ सिंहले भने, ‘त्यसैले पार्टीका सबै नेतासँग छलफल गर्ने निष्कर्षमा पुगेका छौं।’ 

सिंहले आगामी शुक्रबार टोखास्थित कोइराला निवासमा पार्टीका सबै केन्द्रीय सदस्यहरुसँग छलफल गर्ने र त्यो भन्दा अघि १३ औं महाधिवेशनका सभापतिका उम्मेदवारसँग छलफल गर्ने तय भएको जानकारी दिए। १३ औं महाधिवेशनमा सभापतिका उम्मेदवार रहेका वरिष्ठ नेता रामचन्द्र पौडेल र पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलासँग निधि, कोइराला र सिंहले छलफल गर्ने भएका हुन्। 

यस्तै छलफलले नियमअनुसार योग्य सबैलाई क्रियाशील सदस्य बनाउनुपर्ने र नियमअनुसार योग्य नभएकालाई सदस्यता दिन नहुनेमा जोड दिएको छ। ‘हामीले महाधिवेशन समयमा सम्पन्न गराउने विषय र महाधिवेशनमा  क्रियाशील सदस्यता, समायोजनका बारेमा कार्यकर्तामा रहेका जिज्ञासाका बारेमा पनि छलफल गर्यौं,’ उनले भने, ‘ कांग्रेस लोकतान्त्रिक पार्टी हो, यसको महाधिववेशन पनि लोकतन्त्रिक तवरले गरिनुपर्छ। क्रियाशील पाउन योग्य कोही पनि बन्चित हुनुहुन्न। सँगै विधि प्रक्रिया मिचेर दिने कुरा पनि राम्रो होइन।’ 

निधि, कोइराला र सिंह १४ औं महाधिवेशनमा सभापतिका आकांक्षी हुन्। उनीहरुबीच को उम्मेदवार हुने भन्ने ठूलो प्रश्न छ। तपाईहरु मध्ये सभापतिको उम्मेदवार को हुन्छ त? भन्ने सञ्चारकर्मीको प्रश्नमा सिंहले भने, ‘हामी निरन्तर छलफलमा छौं। काँचो फल मिठो हुँदैन। पार्टी सभापतिको उम्मेदवार हुन सबैजनासँग छलफल गर्ने हो। धेरै भन्दा धेरैसँग छलफल गरेर टुंगो लगाउँछौं।’

तीन नेताबीच छलफल भएको यो तेस्रो पटक हो। यसअघि निधि निवास र कोइराला निवासमा समेत उनीहरुबीच छलफल भएको थियो।

प्रकाशित: Jun 29, 2021| 09:26 मंगलबार, असार १५, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।