बुटवल– समयमै पानी परेका कारण लुम्बिनी प्रदेशमा करिब आधा रोपाइँ सकिएको छ। मध्य असारसम्म आइपुग्दा करिब आधा रोपाइँ सकिएको तथ्यांकले देखाएको छ।
कृषि निर्देशनालय बुटवलका अनुसार अहिलेसम्म ४५.७ प्रतिशत धान रोपाइँ भएको छ। कुल धानखेती हुने ३ लाख ३४ हजार ६७५ हेक्टर क्षेत्रफलमध्ये १ लाख ५३ हजार हेक्टरमा रोपाइँ सकिएको हो। गत वर्ष मध्य असारसम्म कम रोपाइँ भएको थियो।
यो वर्ष मनसुन समयमै सक्रिय भएकाले चाँडै रोपाइँ शुरु भएको कृषि विकास निर्देशनालयका सूचना अधिकारी कामना अधिकारीले बताइन्। उनका अनुसार यो वर्ष चाँडै रोपाइँ हुनेछ। तराईका अन्न भण्डारका रुपमा रहेका रुपन्देही, कपिलवस्तु, नवलपरासी, दाङ, बाँके र बर्दियामा धमाधम रोपाइँ चलिरहेको छ। आकाशे पानीको भरमा रोपाइँ हुने क्षेत्रमा पनि यो वर्ष वर्षा राम्रो भएकाले रोपाइँ गर्न किसानलाई सहज भएको हो।
कपिलवस्तुमा यो वर्ष २४.९ प्रतिशत रोपाइँ सकिएको छ। रुपन्देहीमा ५५ प्रतिशत रोपाइँ सकिएको छ। रुपन्देहीमा कुल ८२ हजार ६२२ खेतीयोग्य जमिन मध्ये ६९ हजार ७०० हेक्टर क्षेत्रलफलमा धान खेती हुने गरेको छ।
दाङ र नवलपरासीमा ६० प्रतिशत रोपाइँ सकिएको छ। तराईको अर्को जिल्ला बर्दियामा पनि ६३ प्रतिशत रोपाइँ भएको कृषि विकास निर्देशनालयले जनाएको छ। यसैगरी पहाडी जिल्लाहरुमा भने रोपाइँ लगभग सकिने तरखरमा छ।
रोल्पामा यो वर्ष सबैभन्दा बढी ९० प्रतिशत रोपाइँ भइसकेको छ। प्युठानमा ८० प्रतिशत, रुकुम पुर्वमा ६३, गुल्मीमा ७, अर्घाखाँचीमा ५९, पाल्पामा ३१ प्रतिशत रोपाइँ भएको छ।
यसैबीच, लुम्बिनी प्रदेश सरकार सहित विभिन्न स्थानीय तहहरुले ठाउँ–ठाउँमा राष्ट्रिय धान दिवस मनाएका छन्। किसानलाई धानखेतीमा प्रोत्साहन गर्ने गरी धान दिवस मनाइएको हो। लुम्बिनी प्रदेश सरकारले बाँकेमा दिवस मनाएको छ। यस्तै १२ वटै जिल्लाका स्थानीय तहका जनप्रतिनिधि समेत खेत–खेतमा सहभागी भएर दिवस मनाएका छन्।
लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले राष्ट्रिय धान दिवसको अवसरमा शुभकामना दिँदै आयातलाई प्रतिस्थापन गर्न धानको उत्पादकत्व बढाउँदै लैजानुपर्ने बताएका छन्। उनले धानको उत्पादकत्व र उत्पादन वृद्धि गरी समृद्ध नेपाल सुखी नेपालीको राष्ट्रिय लक्ष्य हासिल गर्न सकिने बताए। कोभिड—१९ महामारीले अर्थतन्त्रमा परेको नकारात्मक असरलाई न्यूनीकरण गर्न कृषि उत्पादन वृद्धिबाट सम्भव हुने मुख्यमन्त्रीको भनाइ छ।
अखिल नेपाल किसान महासंघले बुटवलमा रोपाइँ गरेर राष्ट्रिय धान दिवस मनाएको छ। बुटवल १२ स्थित सिद्धबाबा तरकारी उत्पादक कृष समूहको १४ कठ्ठा खेतमा धान रोपाइँ गरेको जिल्ला सचिव मधुकला कुँवरले बताइन्। तराईका मुख्य बजार क्षेत्रका खेतीयोग्य भूमि प्लटिङ गरी घडेरीका रुपमा प्रयोग हुँदा धान खेतीको उत्पादन घट्दै गएको बुटवल उपमहानगरका उपप्रमुख गोमा आचार्यले बताइन्।
उनले स्थानीय सरकारका तर्फबाट धानखेती गर्ने किसानलाई प्रोत्साहन गर्ने काम गरिएको बताइन्। रुपन्देहीको तिलोत्तमा नगरपालिकाका जनप्रतिनिधिले पनि किसानलाई प्रोत्साहन गर्ने गरी दिवस मनाएको प्रवक्ता सुरेन्द्र श्रीले जानकारी दिए। यो वर्ष धान उत्पादनमा वृद्धिः खाद्य सुरक्षा, आत्मनिर्भरता र समृद्धि’ नाराका साथ धान दिवस मनाइएको छ।