काठमाडौं– देशभर नै मनसुनको सक्रियता बढेकोले सचेतता अपनाउन मौसम पूर्वानुमान महाशाखाले अनुरोध गरेको छ।
आज मंगलबार दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली रहने तथा देशका धेरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले बताएको छ। प्रदेश नं १, गण्डकी प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको छ।
यस्तै, राति देशभर सामान्य देखि पूर्ण बदली रहने र प्रदेश नं १, प्रदेश नं २, बागमती प्रदेश र गण्डकी प्रदेशका धेरै स्थानहरुमा साथै लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाको भनाइ छ। प्रदेश नं १, बागमती प्रदेश र गण्डकी प्रदेशका थोरै स्थानहरुमा भारी वर्षाको सम्भावना छ।
बुधबारबाट मनसुन थप सक्रिय हुने महाशाखाले जनाएको छ। मनसुनी न्युन चापीय रेखा नेपालको तराईनजिक रहने हुनाले बुधबारदेखि मनसुन बढी सक्रिय हुन लागेको महाशाखाको भनाइ छ।