काठमाडौं– नेपाली कांग्रेसकी नेतृ सुजाता कोइरालाले वरिष्ठ नेता रामचन्द्र पौडेल र पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलाबीच सहमति गराउने प्रयास थालेकी छन्।
आफ्नो निवास मण्डिखाटारमा सोमबार लन्च मिटिङ गरेर कोइरालाले पौडेल र सिटौलाबीच सहमतिको प्रयास थालेकी हुन्। स्रोतका अनुसार कोइरालाले दुवै नेतालाई मिल्न आग्रह गरेकी थिइन्।
‘तपाईंहरू लामो समयदेखि सँगै हुनुहुन्थ्यो। तर, अहिले एक हुन सक्नुभएको छैन,’ कोइरालाको भनाइ उधृत गर्दै स्रोतले भन्यो, ‘अब तितोमिठो बिर्सनुस्। अब एक ठाँउमा आउनुस्। तपाईंहरू एक ठाउँमा आउँदा नै पार्टीको भविष्य राम्रो बन्छ। सहमतिको विन्दु पनि फेला पर्छ।’
कोइरालाले मिल्न आग्रह गरेपछि सिटौलाले आफूहरुबीच कुनै वैमनस्य नरहेको बताएका थिए। ‘हामीबीच कुनै वैमनस्य छैन। हामी मिल्न सक्छौं। संस्थापन इतरका बीचमा सहमति गरेर जान सकिन्छ,’ सिटौलाले भनेका थिए।
पौडेलले सहमतिका आधारमा अघि बढ्न आफू सधैं तयार रहेको जवाफ दिएका थिए। ‘म सहमतिमा अघि बढ्न चाहन्छु। सहमतिको प्रयास गरौं,’ उनले भनेका थिए।
सिटौलाले संस्थापन इतर सहमति खोज्न मिलेर जाने प्रस्ताव समेत पौडेल समक्ष राखेका छन्। ‘तपाईं र म मिलेर सहमति खोज्ने प्रयास गरौं न त,’ सिटौलाले भनेका थिए।
पौडेलले सहमतिका आधारमा अघि बढ्न आफू सधैं तयार रहेको जवाफ दिएका थिए। ‘म सहमतिमा अघि बढ्न चाहन्छु। सहमतिको प्रयास गरौं,’ उनले भनेका थिए।
पौडेल र सिटौला लामो समयदेखि एकै समूहमा थिए। १२ औं महाधिवेशनपछि पौडेल कांग्रेस उपसभापति थिए भने सिटौला महामन्त्री थिए। तर, १३ औं महाधिवेशनमा सिटौलाले तत्कालीन संस्थापन समूह छोडेर छुट्टै समूह बनाएका थिए।
१३ औं महाधिवेशनमा पौडेल र सिटौला दुवै १३ औं महाधिवेशनमा सभापति लडेका थिए। पहिलो चरणमा कसैले पनि बहुमत नल्याएपछि दोस्रो चरणको निर्वाचनमा भने सिटौलाले देउवालाई सघाएका थिए।