जनकपुरधाम- प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले प्रदेश हरित अभियान २०७८ को एक कार्यक्रमका बीच शुभारम्भ गरेका छन्।
डिभिजन वन कार्यालय धनुषाले मिथिला नगरपालिका वडा नम्बर ४ पुष्पलपुरमा आयोजना गरेको कार्यक्रममा मुख्यमन्त्री राउतले बर पिपलको रुख रोपेर अभियानको शुभारम्भ गरेका हुन्।
मुख्यमन्त्री राउतले अभियानको शुभारम्भ गरेलगतै प्रदेशको आठवटै जिल्लामा एकै साथ वृक्षारोपण सुरु गरिएको छ।
राष्ट्रिय वृक्षारोपण दिवसको अवसर पारेर शुभारम्भ गरिएको सात दिवसीय अभियान अन्तर्गत आठवटै जिल्लाको कुल १ हजार १३५ हेक्टर क्षेत्रमा १४ लाख ४६ हजार ७९६ विरुवा रोप्ने कार्यक्रम रहेको उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालयका सचिव डा.रामचन्द्र कंडेलले जानकारी दिए।
अभियानको शुभारम्भका लागि आठवटै जिल्लामा प्रदेश सरकारका मन्त्री एवं राज्यमन्त्रीहरु पुगेका छन्।
अभियानको शुभारम्भ सप्तरीमा समाजिक विकासमन्त्री नवल किशोर साह, सिरहामा आर्थिक मामिला तथा योजनामन्त्री विजय कुमार यादव, महोत्तरीमा उद्योग पर्यटन वन तथा वातावरणमन्त्री रामनरेश राय, आन्तरिक मामिला तथा कानून राज्यमन्त्री सरोज सिंह कुशवाहा, सर्लाहीमा महिला बालबालिका तथा खेलकुदमन्त्री वीरेन्द्र कुमार सिंह, बारामा आर्थिक मामिला तथा योजनामन्त्री उषाकुमारी यादव, पर्सामा उर्जा तथा खानेपानी मन्त्री ओम प्रकाश शर्माले गरेका छन्।