काठमाडौं– नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले नेता शेखर कोइरालासँग आफूलाई सहयोग गर्न आग्रह गरेका छन्। आफ्नै निवास बोहोराटारमा सोमबार कोइरालालाई बोलाएर पाैडेलले १४औं महाधिवेशनमा आफू सभापति लड्ने भन्दै सहयोग मागेका हुन्।
भदौ १६ देखि हुने महाधिवेशनका लागि नेताहरुले भेटघाट तीव्र बनाइरहेका बेला पौडेल र कोइरालाबीच छलफल भएको हो। पौडेल १३औं महाधिवेशनमा सभापति पदमा पराजित भएका थिए। कोइरालाले २ वर्ष अघिदेखि नै सभापतिको तयारी गरिरहेका छन्।
‘मलाई सभापति बनेर पार्टी हाँक्ने ठूलो रहर छ। सहयोग गर्नुपर्यो। यो मेरा लागि अन्तिम अवसर हो,’ पौडेलले कोइरालालाई भनेका थिए, ‘मेरो लामो राजनीतिक अनुभवका आधारमा पार्टी चलाउने मन छ। मेरो योगदान, त्याग र निष्ठाको साथीहरुले मूल्यांकन गर्नुपर्यो। त्यसैले एकपटक मलाई सहयोग गर्नुस्।’
तर, कोइरालाले पौडेलको प्रस्ताव भने स्वीकार गरेनन्। स्रोतका अनुसार कोइरालाले पौडेललाई भावी प्रधानमन्त्री बन्न आग्रह गरेका छन्। ‘म सभापति बनेर पार्टी हाँक्छु। तपाईंले आफ्नो अनुभव प्रधानमन्त्री बनेर देशका लागि प्रयोग गर्न सक्नुहुन्छ,’ कोइरालाले भनेका थिए, ‘सभामुख र मन्त्री बनिसक्नुभयो। लामो राजनीतिक अनुभव छ। पार्टीको उपभापति बन्नुभयो, अब प्रधानमन्त्री बनेर देश चलाउनुस्।’ तर, पौडेलले कोइरालाको प्रस्तावका बारेमा कुनै प्रतिक्रिया नदिएको स्रोतको भनाइ छ।
१४औं महाधिवेशनमा पौडेल समूहका ८ जना नेताले सभापतिमा लड्ने आकांक्षा देखाएका छन्। शुक्रबार पौडेल समूहको भेलामा उनीहरुले आ–आफ्नो दाबी प्रस्तुत गरेका थिए। पौडेलले उक्त भेलामा भनेका थिए, ‘म १३ औं महाधिवेशनको घाइते हुँ। सभापति पुनः लड्छु। साथीहरुले सहयोग गर्नुपर्यो।’
भेलमा महामन्त्री शशांक कोइराला, पूर्वमहामन्त्री प्रकाशमान सिंह, नेताहरु डा. रामशरण महत, अर्जुननरसिंह केसी, शेखर कोइराला, सुजाता कोइराला र कल्याण गुरुङले समेत सभापति लड्ने घोषणा गरेका थिए।
सभापतिका आकांक्षीहरुबीच नै शृंखलाबद्ध भेटघाट भइरहेका बेला पौडेलले समेत आकांक्षीहरुसँग छलफल गर्न थालेका छन्। सभापतिका आकांक्षी उपभापति विमलेन्द्र निधि, सिंह र कोइरालाबीच चरणबद्ध छलफल भइरहेको छ। ‘अरु अकांक्षीहरुबीच भेटघाट भइरहेको छ। त्यसैले उहाँ (पौडेल)ले पनि शेखरदाइसँग भेटघाट गर्नुभएको हो,’ पौडेल निकट स्रोतले भन्यो।
कोइरालाको सचिवालयले भने भेटघाट नियमित प्रक्रिया भएको दाबी गरेको छ। ‘क्रियाशील सदस्यताका विषयमा आएका विवाद र महाधिवेशन केन्द्रित छलफल भयो,’ उनले भने, ‘उहाँहरुबीचको यो नियमित छलफल नै हो।’