आइतबार, भदौ ७, २०८३
  • गृहपृष्ठ
  • समाज
  • २५ दिनपछि भेटियो सुजिताको शव, जसलाई परिवारले नै मारेको स्वीकार गरेको थियो

२५ दिनपछि भेटियो सुजिताको शव, जसलाई परिवारले नै मारेको स्वीकार गरेको थियो

महोत्तरीको लोहारपट्टी नगरपालिका–७ भ्रमरपुरा गाउँमा हत्या गरी गाडिएको अवस्थामा एक महिलाको शव फेला परेको छ।
 |  आइतबार, असार १३, २०७८

नेपाल समय

नेपाल समय

आइतबार, असार १३, २०७८

महोत्तरीको लोहारपट्टी नगरपालिका–७ भ्रमरपुरा गाउँमा हत्या गरी गाडिएको अवस्थामा एक महिलाको शव फेला परेको छ।

परिवारजनले गत जेठ २० गते बिहान घरबाट हराएको भनिएको स्थानीय मुकेश ठाकुरकी पत्नी सुजिता ठाकुरको शव हत्या गरी गाडिएको अवस्थामा आज  फेला परेको हो।

जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी उपरीक्षक दिनेशकुमार आचार्यका अनुसार भ्रमरपुरा गाउँको मनरहीया वनमा रहेको पतिराम ठाकुर (मृतकका ससुरा) को खेतमा गाडिएको अवस्थामा शवका अवशेष फेला परेका हुन्। गत १९ गते राति नै हत्या गरी ससुरा पतिराम, देवर रुपेश र पति मुकेशले उनको शव घरभन्दा करीब ३ किलोमिटर पूर्व दक्षिणमा रहेको मनरहिया वन नजिकको खेतको पश्चिम उत्तर कुनामा गाडिएको प्रहरीले जनाएको छ। आज २५ दिनपछि सुजिताको शवका अवशेषहरू फेला परेको हो।

विभिन्न सञ्चारमाध्यममा महिला हराएको र हत्याको आशङ्का गरिएको समाचार आएको तथा मृतकका माइती पक्षले मानव अधिकार आयोग, महिला आयोग, मधेशी आयोगलगायत स्थानहरूबाट शव उत्खनन् गर्न दबाब दिएपछि प्रहरीले आज उक्त स्थानमा उत्खनन् गर्दा खाल्डोमा मृतकको कपाल, प्लाष्टिकको डोरी, रगत, केमिकल र नुन मिसिएको माटो, तन्ना, महिलाले लगाएको लुगा फेला परेको छ। घटनाको २५ दिन बित्तिसक्दा उनको शरीरको मासु गलिसकेको र केही अवशेषहरू मात्रै फेला परेको हो।

जिल्लाकै पिपरा गाउँपालिका–६ रतौली माईती रहेको सुजिताकी आमा सुनिता पाण्डेय, बुवा कामेश्वर पाण्डे, दाजु जितेन्द्र पाण्डे, भाइ शिवम पाण्डेले ससुराली पक्षले सुजिताको हत्या गरी मनरहिया वनमा गाडेकाले उत्खनन र जाँच  गरिदिन प्रहरी चौकी भ्रमरपुरा, ईलाका प्रहरी कार्यालय पिपरा र जिल्ला प्रहरी कार्यालयमा दुई साता बढीदेखि धाइरहे पनि प्रहरीले उनीहरूको कुरा नसुनेको बुबा कामेश्वरले आरोप लगाए।

उनले प्रहरीहरूलाई आफूहरू छोरीको हत्या भएको भन्न जाँदा प्रहरीहरूले तिम्रो छोरीको अरुसँग नराम्रो सम्बन्ध रहेको र अरुसँग भागेको जस्ता अश्लिल शब्द प्रयोग गरी गाली गर्दै सहयोग नगरेको समेत आरोप लगाए। सामाजिक अभियन्ता सरोज रायको पहलमा दुई दिनदेखि जिल्ला प्रहरी, प्रदेश प्रहरी, प्रदेश नं २ को आन्तरिक मामिला तथा कानुनमन्त्री ज्ञानेन्द्र यादव र मधेशी आयोगको अग्रसरतामा आज सुजिताको शव उत्खनन हुन सकेको उनकी आमा सुनिताले बताइन्।

यसअघि मृतक सुजिताका देवर रुपेशले उनका दाजु जितेन्द्र पाण्डेलाई आफूहरूले सुजितालाई मारेको स्वीकार गरेको भिडियोसमेत सामाजिक सञ्जालमा भाइरल भएको तर प्रहरीले उक्त भिडियोलाई प्रमाण मानेको थिएन र घटनाबारे अनुसन्धान भइरहको तथा सुजिताको खोजी भइरहेको बताएको थियो।

–रासस 

प्रकाशित: Jun 27, 2021| 12:57 आइतबार, असार १३, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।